
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शनिवार १ नम्बर प्रदेश अधिवेशनमा मतदानमा ढिलाइ भइरहेको छ ।
निर्वाचन समितिले अन्तिम सूची र मतपत्रमा उम्मेदवारको नाम नै छुटाएपछि विवाद हुँदा मतदान शुरू हुन सकेको छैन ।
प्रदेश सदस्य पदमा उम्मेदवारी दिएका शान्तिकला राई, जीवन नेपाली र श्याम खड्गीको नाम निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीमा छुटेपछि विवाद हुँदा मतदान रोकिएको छ ।
खड्गीले भूगोल, नेपालीले दलित र राईले खुलाबाट उम्मेदवारी दर्ता गराएका थिए । नाम छुटेका तीनै जनाले शुक्रवार मनोनयन दर्ता गराएका थिए ।
निर्वाचन समितिका निर्वाचन अधिकृत भरत थापाले प्राविधिक कारणले नाम छुटेको बताए । छुटेका उम्मेदवारको नामसहित मतपत्र पुनः छाप्नुपर्ने भएकाले केही ढिला भएको उनले बताए । अब चाँडै मतदान थाल्ने समेत उनले बताए ।
मतदान ८ बजेदेखि गर्ने भनिए पनि बिहान ११ बज्दासम्म मतदान हुन सकेको छैन । मतदानस्थलमा केही मतदाता तथा उम्मेदवार मात्रै देखिएका छन् ।


