
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गण्डकी प्रदेशको कांग्रेस अधिवेशनमा मतदान गर्न ३५ मिनेटभन्दा बढी समय लागेको छ ।
आज कांग्रेसको प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयनको लागि सबै प्रदेशमा मतदान भइरहेको छ ।
मतदान गर्ने ठाउँ अँध्यारो भएको र लामो दुई वटा मतपत्र भएकोले मतदानमा समय लागेको पौडेलले बताए ।
धेरै उम्मेदवारलाई आफूले नचिनेको कारण पनि मतदान गर्न लागेको पौडेलले बताए ।
मतदान गरेर फर्किएपछि पौडेलले भने, ‘दुई वटा लिस्ट हेर्नुपर्ने, कण्ठ पनि छैन । प्रचारमा पनि थिइन । मतदान गर्दा आत्मालाई साक्षी राखेर नेपाली कांग्रेसको भलो, नेपाली कांग्रेसलाई रुपान्तरण कसरी गर्ने भन्ने कुरामा जुन उम्मेदवारहरूबाट विश्वास र भरोसा लागेको छ तिनै उम्मेदवारहरूको नाम खोजी खोजी चिन्ह लगाए ।’
कांग्रेसको राष्ट्रिय महाधिवेशनमा पनि गण्डकी प्रदेशमा जस्तै संस्थापन इतरको साझा उम्मेदवार हुने पौडेलले बताए ।
राष्ट्रिय महाधिवशेनमा तपाईं सभापतिको उम्मेदवार हो कि होइन भन्ने पत्रकारहरूको प्रश्नमा पौडेलले भने, ‘काठमाडौं गएपछि सल्लाह गरेर निर्णय गर्छौं । साथीहरू बीचको सामूहिक सल्लाहबाट जे निर्णय आउँछ त्यसैअनुसार हुन्छ । अहिले नै म हुन्छु र त हुन्छु भन्न उपयुक्त ठान्दिन ।’