
काठमाडौं, १२ असार — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायको भूमिकामा आपत्ति जनाएका छन् । उनले प्रेस चौतारीले काठमाडौंमा आयोजना गरेको विशेष पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
केही दिन अघि राजदूत उपाध्याय कपिलवस्तु आएको खबरहरु प्रकाशित भएका थिए । उपाध्याय तराई क्षेत्रकै नेता हुन् । उनी कांग्रेसको कोटाबाट भारतीय राजदूत बनेका हुन् ।
‘विदेशमा रहेका महामहिम राजदूतहरुले उतै बसेर सम्बन्ध सुधारे हुन्थ्यो,’ उनले उपाध्याय प्रति लक्षित गर्दै भने, ‘राजदूतले भोट माग्दै हिँड्न अलि सुहाउँदैन ।’ ओलीले उपाध्यायको गृहजिल्ला प्रवेशलाई आपत्तिजन भनेका हुन् ।
उनले चुनावमा सक्रिय हुन मन लागे उम्मेदवारै बनेर उठ्न सुझाव समेत दिए । तर आफ्नो पदिय मर्यादा, हैसियत, सम्मान, जिम्मेवारी, राज्यले दिएको सुविधा तथा पारिश्रमिकको ख्याल गर्न उनले अनुरोध गरेका छन् ।
राजदूतहरु आफ्नै पदिय मर्यादा अनुसार बसेमा बाञ्छनिय हुने ओलीले बताए ।