०१ असार २०८३, सोमबार

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल गरिने

मंसिर १८, २०७८
जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल गरिने

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ऐतिहासिक जानकी मन्दिरलाई छिट्टै विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । मिथिला संस्कृति समाज नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको श्रीराम जानकी विवाहोत्सव–२०७८ तथा श्रष्टा सम्मान एवं विचार गोष्ठी कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्त्री आलेले यस्तो आश्वासन दिएका हुन् ।

‘सभ्यताको हिसावले मिथिला सभ्यता धेरै धनी रहेको छ । पशुपतिनाथभन्दा धेरै पुरानो रहेको जानकी मन्दिर हो,’ उनले भने, ‘म पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्रीको हैसियतले अब छिट्टै नै जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्नका लागि आफ्नो तर्फबाट भरपूर कोशिस गरेर जुनसुकै हालतमा पनि राख्न लाग्नेछु ।’

मन्त्री आलेले नेपालकै सबभन्दा ऐतिहासिक र धार्मिक आस्था बोकेको जनकपुरधामको जानकी मन्दिरलाई आफ्नै कार्यकालमा विश्व सम्पदा सूचीमा राख्न विशेष पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

‘श्रीराम जानकी विवाहोत्सवको अवसरमा सम्पूर्ण मिथिलावासीमा शुभकामना व्यक्त गर्न चाहन्छु,’ मन्त्री आले भने, ‘ मिथिला सभ्यता भनेको हजारौं वर्ष पुरानो हो । मिथिला सभ्यता कला, संस्कृति, संगीत, भेषभूषा लगायत हरेक क्षेत्रमा धनी रहेको छ ।’ उनले यसै विवाह पञ्चमीको दिन भारतका लाखौं भक्तजन जनकपुरधामको जानकी मन्दिरमा आएर दर्शन गर्ने गरेको उल्लेख गरे ।

उनले आफ्नो मन्त्रालयबाट हुनसक्ने सबै किसिमको सहयोग जानकी मन्दिरका निम्ति उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाए । सो कार्यक्रममा मन्त्री आलेलाई मिथिला संस्कृति समाजले मायाको चिनोसमेत प्रदान गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्