
लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी खत्री (वली)ले पश्चिम दाङका विभिन्न योजनाको अवलोकन गरेका छन् । पश्चिम दाङको शान्तिनगर, दङ्गीशरण, बबई र तुलसीपुरका विभिन्न स्थानमा विकास निर्माणको अवस्थाका बारेमा उनले जानकारी लिएका हुन् ।
उनले शान्तिनगर गाउँपालिका–५ मा प्रदेश सरकारको बजेटबाट निर्माण हुन लागेको सभाहलको अवलोकन गरेका छन् । सोही सभाहल निर्माणको काम तीव्रगतिमा अघि बढिरहेको छ । त्यस्तै दङ्गीशरण गाउँपालिका–६ स्थित बागरमा रहेको १५ शय्याको अस्पतालको पनि अवलोकन गरेका छन्। सोही अस्पताललाई प्रदेश सरकारमातहत लैजाने उनले प्रतिबद्धता जनाएका छन् ।
त्यस्तै दङ्गीशरण गाउँपालिका–५ स्थित स्वास्थ्यचौकी र वडा नं ७ को आधारभूत स्वास्थ्य केन्द्र , शान्तिनगर गाउँपालिका–२ मा निर्माणाधीन १५ शय्याको अस्पताल , बबई गाउँपालिका–२ स्थित ठूलाचौर–घुरिन्डाँडा (सीतापुर) जोड्ने पुल निर्माणस्थल, बबई–३ हंसपुरमा निर्माण हुन लागेको १५ शय्याको अस्पताल र सोही वडाको हंसपुर माविको पनि उनले अवलोकन गरेका थिए ।