गोरखा, १६ पुस - उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अनावश्यक कुरा बोल्दै हिडेको आरोप लगाएका छन् ।

नवौँ गोरखा महोत्सवको समापन समारोहलाई आज सम्बोधन गर्दै निधिले प्रश्न गरे , ‘सत्तामा नरहेको, सत्ताबाट हटाइएको आवेशमा जिम्मेवार पार्टीको नेताले जे मन लाग्यो त्यही बोल्न र राष्ट्रघाती भन्न पाइन्छ ?’
संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव राष्ट्रको हितमा भएको भन्दै निधिले संशोधन पारित भएपछि स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन गर्ने बाटो खुल्ने बताए ।
संसदमा दर्ता भएको संशोधन प्रस्तावले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षताजस्ता परिवर्तनलाई सुरक्षित गर्ने र संविधानलाई सर्वस्वीकार्य बनाउने प्रस्ताव भएको निधिको भनाइ थियो । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लाई उहाँले राष्ट्रघात शब्दलाई सस्तो किसिमले प्रयोग नगर्न पनि आग्रह गरे ।
एमालेले संशोधन प्रस्ताव संसदमा टेवुल गर्न दिन्न भन्दै मुढे बल देखाएको निधिको भनाइ छ । ‘संसदमा संशोधनको प्रस्ताव दर्ता गराउने अधिकार सरकारको संविधानसम्मत अधिकार हो’ उनले भने, “चित्त बुझेन भने संसदमा बोल्नुहोस् । मतदानको बेला विपक्षमा मतदान गर्नुहोस् । कुनै पनि प्रतिपक्षी दलले संसदमा सरकारले विधेयक पेस गर्न पाउँदैन भन्न सक्दैन ।”
कांग्रेस केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले बूढीगण्डकी जलविद्युत् आयोजना क्षेत्रका प्रभावितलाई उचित मुआब्जा वितरण गर्नुपर्ने माग गरे ।