
कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत अहिले लुम्बिनी र प्रदेश–१ मा भएको निर्वाचनको मत गणना जारी छ ।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश सभापति निर्वाचित गर्नका लागि शनिबार मतदान भएको थियो ।
लुम्बिनी र प्रदेश–१ दुवैमा संस्थापन इतर समूहका उम्मेदवारले अग्रता कायम गरेका छन् ।
लुम्बिनी प्रदेशमा संस्थापन इतर समूहका अमरसिंह पुनको समूहले फराकिलो अन्तरले अग्रता कायम गरेको छ । लुम्बिनी प्रदेशमा कांग्रेस संस्थापनको पक्षबाट भरत साह उम्मेदवार बनेका थिए ।
प्रदेश–१ मा पनि कांग्रेसको संस्थापन इतर समूहका गुरूराज घिमिरेले सुरूवाती अग्रता कायम गरेका छन ।
उनका प्रतिस्पर्धी उद्धव थापा झापा जिल्लाका निवर्तमान जिल्ला सभापति हुन । उनी कांग्रेसको संस्थापन पक्षको समर्थन रहेको उम्मेदवार हुन् । थापालाई कांग्रेसमा तेस्रो धार भनेर चिनिने कृष्णप्रसाद सिटौला समूहको पनि समर्थन रहेको छ ।
संस्थापन पक्षले कर्णाली र सुदूरपश्चिम प्रदेशमा सभापति जितिसकेको छ । कर्णालीमा ललितजंग शाही र सुदूरपश्चिममा वीरबहादुर बलायर विजयी भएका छन् ।
गण्डकी प्रदेशमा संस्थापन इतरका उम्मेदवार शुक्रराज शर्मा विजयी भएका छन् ।
बागमती प्रदेश सभापतिका लागि भएको दोस्रो चरणको मतदानको मतगणना सुरु भएको छ । निर्वाचनमा दुई समूहका इन्द्र बानियाँ र जगदीश्वर नरसिंह केसीबीच भिडन्त छ ।
हेटौँडामा आइतबार दिउँसोबाट सुरु भएको मतदान साँझ सम्पन्न भएको थियो भने त्यसपछि आवश्यक प्रक्रिया पुरा गरेर ७ बजेदेखि मतगणना सुरू गरिएको हो ।
शनिबार भएको मतदानमा तीन जनाबीच प्रतिस्पर्धा हुँदा पनि कुनै उम्मेदवारले पनि ५० प्रतिशतभन्दा बढी कटाउन नसकेपछि पुनः मतदान भएको थियो ।