
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिहं पुनले अग्रता कायमै राखेका छन् । ९१६ मत गणना गर्दा पुनले भरतकुमार शाहलाई ८१ मतले पछाडि पारेका छन् । निर्वाचन समितिका अनुसार पुनले ४९४ मत प्राप्त गरेका छन् । भने भरतकुमार शाहले ४१३ मत ल्याएका छन् ।
प्रदेशको नेतृत्वको लागि शनिबार मतदान भएपनि आइतबार बिहानबाट मतगणना सुरु भएको थियो । निर्वाचनमा १ हजार ६३१ मत खसेको थियो । अन्य पदाधिकारीमा पनि पुन प्यानलले नैं अग्रता कायम गरेको छ । पुन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् भने शाह सभापति शेरबहादुर देउवा समूहका नेतामा पर्छन् ।
संघीयता कार्यान्वयनमा आएको चार वर्षपछि कांग्रेसले पहिलोपटक प्रदेश सभापति चुन्न लागेको हो । लुम्बिनी प्रदेशमा संस्थापनइतर समूह बलियो देखिएको छ ।
प्रदेशका १२ जिल्लामध्ये ९ जिल्ला सभापति, क्षेत्रीय सभापति, प्रदेशसभा र महाधिवेशन प्रतिनिधिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह बलियो देखिएको छ ।