
नेपाली कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन मगर विजयी भएका छन् ।
रोल्पाका पुनले प्रतिष्पर्धी भरत कुमार शाहलाई ८५ मत अन्तरले पराजित गरेको निर्वाचन समितिका जीवनारायण अधिकारीले जानकारी दिए ।
पुनले ८५२ र शाहले ७६७ मत मात्र ल्याउन सके । पुन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् । भने, शाह कांग्रेस सभापति शेरबहादुर देउवा समूहका नेता हुन् ।
प्रदेशका धेरै पदमा पुन प्यानलका उम्मेदवारहरू विजयी भएका छन् ।
उपसभापतिमा भुवन प्रसाद श्रेष्ठ ८४७ र राजु खनाल ७९२ मतका साथ विजयी भए । त्यस्तै महामन्त्रीमा विक्रम खनाल ८४४ र सुरेन्द्रराज आचार्य ८३९ मतका साथ विजयी भएका छन् । त्यस्तैगरी सहमहामन्त्रीमा विष्णु खनाल ८५९ र निमा गिरी ८३० र खगराज पाण्डे ७७६ मतका साथ विजयी भएका छन् ।
शनिबार रुपन्देहीको भैरहवामा भएको निर्वाचनमा १ हजार ६३१ मत खसेको थियो । पुनको जितसँगै लुम्बिनीमा गृहमन्त्री बालकृष्ण खाँणलाई धक्का लागेको छ । शाहलाई जिताउन पुन रुपन्देहीमै अड्डा जमाएर बसेका थिए ।