१६ असार २०८३, मंगलबार

बुटवलमा यस्तो बन्दै छ सिटी सेन्टर

मंसिर २०, २०७८
बुटवलमा यस्तो बन्दै छ सिटी सेन्टर

बुटवल उपमहानगरले बस टर्मिनल परिसरमा बहुतला पार्किङसहितको बहुउद्देश्यीय भवन निर्माणको योजना बनाएको छ । 

आधुनिक सपिङ कम्प्लेक्सका सम्पूर्ण सुविधासहितको बुटवल सिटी सेन्टर नामको बहुउद्देश्यीय भवन बनाइने भएको हो । सार्वजनिक–निजी साझेदारी (सानिसा) मा बहुवर्षे योजनाका रुपमा यसलाई अगाडि बढाइएको छ । 

बुटवल–९ मा रहेको लुम्बिनी बस टर्मिनल क्षेत्रमा रहेको कि.नं.५ को करीब चार बिघा क्षेत्रफलमा बहुतला पार्किङसहितको बहुउद्देश्यीय भवन निर्माण, सञ्चालन तथा हस्तान्तरण आयोजना अवधारणामा कार्यान्वयनको प्रक्रिया अगाडि बढाइएको प्रमुख शिवराज सुवेदीले बताए । 

बस टर्मिनल परिसरमा रहेको खाली जग्गामा उपमहानगरले सिटी सेन्टर बनाउन लागेको हो । अहिले भवन निर्माणलगायतका प्रक्रियाका लागि सार्वजनिक सूचना जारी गरिएको छ । करीब दुई अर्ब बराबरको लागत अनुमान गरिएको छ । 

बुटवल उपमहानगरको भवन निर्माणसम्बन्धी मापदण्ड २०७४ खारेज गर्दै नयाँ मापदण्ड बनाएसँगै अब बुटवलमा तोकिएको क्षेत्रमा बहुतलाका भवन निर्माण गर्न सकिने छ । बढ्दो जनघनत्व र जग्गाको अभावलाई मध्यनजर गर्दै नयाँ अवधारणा बनाइएको प्रमुख सुवेदीले बताए ।

सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्र बनाइने, बजार क्षेत्रमा सम्भाव्यता अध्ययन गरेर बहुतलाका भवन निर्माणको स्वीकृति दिने गरी नयाँ मापदण्ड बनाइएको उनको भनाइ छ । बुटवलमा जनप्रतिनिधि निर्वाचित भएयता करीब ३०० बिघा सार्वजनिक जग्गा संरक्षण गरी सरकार मातहतमा ल्याइएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २७, ४३, ४४ समेतले दिएको अधिकार प्रयोग गरी बुटवल उपमहानगरपालिकाले भवन निर्माणसम्बन्धी मापदण्ड, २०७७ बनाएको थियो । 

बुटवलमा निर्माण हुने हाइराइज अर्थात् बहुतले बहुउद्देश्यीय भवनहरूमा भूकम्पीय जोखिम न्यूनीकरण गर्ने दृष्टिकोणले आवश्यक डिजाइन र स्पेसिफिकेशन बनाई प्राविधिकबाट अनुगमनसमेत गर्ने व्यवस्था मिलाइएको उपमहानगरका प्रवक्ता तथा पूर्वाधार विकास समितिका संयोजक रामप्रसाद रेग्मीले बताए ।

भवन निर्माणमा त्रुटि देखिएमा डिजाइनर, निर्माणकर्ता र निर्माण व्यवसायी तीनै पक्ष जिम्मेवार हुने र सो सम्बन्धमा राष्ट्रिय भवन संहिता तथा अन्य भवन संहितामा समेत आधारित भई उपमहानगरपालिकाले निर्देशिका बनाएर जारी गर्न सक्ने प्रावधानसमेत नयाँ मापदण्डमा व्यवस्था गरिएको प्रवक्ता रेग्मीले बताए  ।

salt training

कमेन्ट गर्नुहोस्