०५ साउन २०८३, मंगलबार

भरत शाह- जनताले पत्याए, कार्यकर्ताले पत्याएनन्

मंसिर २०, २०७८
भरत शाह- जनताले पत्याए, कार्यकर्ताले पत्याएनन्

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवामा निकट नेता भरतकुमार शाह प्रदेशको पहिलो सभापति बन्ने सपना पूरा गर्न सकेनन् । 

कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भएको प्रदेश अधिवेशनमा पराजित भए । संसदीय राजनीतिका चतुर खेलाडी शाहको लागि प्रदेश अधिवेशन बिर्सनलायक बन्यो । रूपन्देहीबाट तीन पटक निर्वाचित सांसद शाहलाई अन्तरपार्टीको निर्वाचनमा हार व्यहोर्नु पर्‍यो । 

उनी २०५६, २०७० र २०७४ मा रूपन्देही क्षेत्र नम्बर ५ बाट सानदार मतका साथ प्रत्यक्ष निर्वाचित सांसद हुन् । २०६४ को पहिलो संविधान सभा निर्वाचनमा भने शाह एमालेका तत्कालीन युवा नेता स्वा. रामनाथ ढकालसँग झिनो मत अन्तरले पराजित भएका थिए । जनताले पत्याउने तर, कार्यकताले नपत्याउने नेता बन्न पुगेका छन् शाह । 

देउवा गुटका ‘हेभीवेट’ नेता शाह संस्थापनइतर समूहका अम्बरसिंह पुनसँग ८५ मतले पराजित हुन पुगे । सभापतिमा निर्वाचित पुनले ८५२ मत ल्याउँदा शाहले ७६७ मत मात्र ल्याउन सके । 

२०२७ सालदेखि विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा लागेका शाह आफ्नो जीत हुनेमा ढुक्क थिए । 

चुनाव जित्ने छवि बनाएका शाह केन्द्रीय सदस्य बन्ने तयारीमा थिए । तर, देउवा र गृहमन्त्री बालकृष्ण खाँणको आग्रहमा प्रदेश झरेका हुन् । 

१३ औं महाधिवेशनमा झिनो मत अन्तरले केन्द्रीय सदस्यमा शाह पराजित भएका थिए । शाहको हारले गृहमन्त्रीको आँगनमा संस्थापन इतरले बिगुल बजाएको छ । महामन्त्रीका दाबेदार गृहमन्त्री खाँण आफ्नै भूगोलमा कमजोर बन्दै गए । 

देउवा र खाँणसँगै पूर्व गृहराज्यमन्त्री तथा नवलपरासीको संस्थापन समूहका प्रभावशाली नेता देवेन्द्रराज कँडेलको पनि जोडबल रह्यो । 

केन्द्रीय राजनीतिमा छाएका उनी प्रदेश झर्दा जित्ने ढुक्क जस्तै थियो, कांग्रेसको संस्थापन पक्ष । उनी अहिले सार्वजनिक लेखा समितिका सभापति तथा पूर्व अर्थराज्यमन्त्री समेत थिए । 

कांग्रेस संस्थापन समूहका एक नेताले भने, ‘बाहिर गृहमन्त्रीसहित नेताहरूले शाहलाई अगाडि सारे पनि भित्रीरूपमा सहयोग थिएन । त्यही भएर पराजित भए ।’ 

शाहले आफ्नी श्रीमती अनिता ढुंगानालाई जिल्ला उपसभापति बनाएपछि एउटा समूह रूष्ट थियो । त्यहीकारण उनलाई रूपन्देहीको भोट क्रस हुँदा हार्न पुगेको ती नेताले बताए । 

साविक लुम्बिनी अञ्चलका ६ जिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह बलियो थियो । साविक राप्ती र भेरीमा देउवा समूह बलियो थियो । राप्ती, भेरी र रूपन्देहीको मतले जित निकाल्न सकेको कांग्रेस नेताहरू बताउँछन् । 

नेविसंघका केन्द्रीय उपसभापति मुक्तिराज पौडेलले निर्वाचनबाट आएको मत परिणामलाई सहज रुपमा स्वीकार गर्नुपर्ने बताउँछन् । ‘परिणाममा कोही दोषी हुन सक्दैन । समूहको प्रभाव पनि देखिएको हुन सक्छ । हारेपछि यसले दियो, उसले दिएन भन्नुको औचित्य हुँदैन ।’ 

पुनको प्यानलले जित निकाल्न उनकै समूहका रुपन्देहीबाट उपसभापतिका उम्मेदवार अष्टभुजा पाठक भने पराजित हुन पुगे । प्रदेश सांसदसमेत रहेका पाठकलाई फेरि आफ्नै समूहबाट घात भएको देखिन्छ । उनले आफू पराजित भएको सहर्ष स्वीकार गर्दै लाइन नछाड्ने बताए ।

‘लोकतान्त्रिक पद्धतिमा विजयी वा पराजय जे भए पनि सहर्ष स्वीकार गर्नुको विकल्प छैन,’ उनले भने ‘पार्टीभित्रका सबैलाई सम्मान छ । तर, ममाथि घात भएको छ ।’ 

रूपन्देहीमा कांग्रेसका पुराना कार्यकर्ताको रूपमा रहेका नेता हुन् पाठक ।

salt training

कमेन्ट गर्नुहोस्