०९ साउन २०८३, शनिबार

भारतले रुससँग गर्‍यो घातक राइफल बनाउने सम्झौता

मंसिर २०, २०७८
भारतले रुससँग गर्‍यो घातक राइफल बनाउने सम्झौता

भारत र रुसबीच एके–२०३ राइफल बनाउनका लागि ५१ सय करोड भारुको रक्षा सम्झौता भएको छ । 

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणका बीच यस सम्झौतामा हस्ताक्षर भएको हो । 

रुसको एके–२०३ राइफल संसारको सबभन्दा घातक एके–४७ राइफलको नयाँ संस्करण हो । यस सम्झौताअन्तर्गत भारतीय सेना र अर्धसैनिक बलका लागि अमेठीमा रहेको कारखानामा ६ लाखवटा राइफल बनाइनेछ । 

यी राइफलले भारतको स्वदेशी राइफल इन्सासलाई विस्थापित गर्नेछन् । 

इन्सास राइफलका कारण भारतीय सेनाले विभिन्न समस्या बेहोर्नुपरेको थियो । इन्सासमा जाम हुने, तीन राउन्डपछि राइफल अटोमेटिक मोडमा जाने अनि युद्धको समयमा राइफल चलाउनेको आँखामा तेल पर्ने समस्या हुन्थ्यो । 

सन् १९९९ मा कारगिल युद्धको बेलामा सैनिकहरूको इन्सास राइफल जाम भएर म्यागजिन भाँचिने समस्या देखिएको थियो । तापक्रम घट्दा यो समस्या झनै चर्कन्थ्यो । 

इन्सासमा समस्या भएकाले जवानहरू जम्मु कश्मीरमा आतंकवादीहरूलाई मार्नका लागि इन्सासको साटो एके–४७ वा अन्य राइफल प्रयोग गर्न थालेका थिए । जर्मनी र इजरयालबाट अटोमेटिक राइफल मगाइने गरेको थियो ।

एके–२०३ को म्यागजिनमा तीसवटा गोली हुन्छन् । यसले ४०० मिटरको दायरामा शतप्रतिशत सटीक आक्रमण गर्न सक्छ । इन्सासको तुलनामा यो हलुका र सानो हुन्छ ।

यस राइफलबाट एक मिनेटमा ६०० वटा गोली हान्न सकिन्छ । यसलाई अटोमेटिक र सेमीअटोमेटिक दुवै किसिमले प्रयोग गर्न सकिन्छ । यो कहिले पनि जाम हुँदैन । सबै किसिमका मौसममा यसलाई प्रयोग गर्न सकिन्छ । 

५० वटा जति देशका सेनाले एके–४७ प्रयोग गरिरहेका छन् । तीसभन्दा बढी देशले एके–२०३ राइफल बनाउने लाइसेन्स लिएका छन् । 

राइफल बनाउँदा अर्डिनेन्स फ्याक्ट्रीको ५०.५ प्रतिशत शेयर हुनेछ भने रस्को कम्पनीको ४९.०५ शेयर हुनेछ ।
 

salt training

कमेन्ट गर्नुहोस्