२५ असार २०८३, बिहीबार

म्यान्मार सेनाले भारतका विद्रोही समूहहरूलाई दियो आश्रय

मंसिर २१, २०७८
म्यान्मार सेनाले भारतका विद्रोही समूहहरूलाई दियो आश्रय

म्यान्मार सेनाले भारतको उत्तरपूर्वी क्षेत्रमा सक्रिय विद्रोहीहरूलाई म्यान्मारमा क्याम्प राख्ने अनुमति दिएको छ । 

ती विद्रोहीहरूले म्यान्मारमा सैन्य तालिम लिइरहेका छन् अनि चिनियाँ हतियारको बलमा मणिपुर र नागाल्यान्डमा हिंस्रक आक्रमण गराइरहेका छन् । भारतमा सक्रिय उग्रवादी संगठनहरूले म्यान्मार सेनाको गुनको पैंचो तिर्न म्यान्मारमा लोकतन्त्रसमर्थक मानिसहरूमाथि आक्रमण गरिरहेका छन् । 

भारतले म्यान्मारको सेनालाई सैन्य हतियारका साथै मानवीय सहायता पनि उपलब्ध गराइरहेको छ । तैपनि म्यान्मार सेनाले भारतको उत्तरपूर्वका उग्रवादीहरूलाई सहायता गरिरहेको छ । यसले भारतलाई ढाडमा चक्कु हानेको अनुभव भइरहेको छ ।

एसिया टाइम्समा छापिएको रिपोर्टअनुसार, उग्रवादी समूहहरूले नोभेम्बर १३ मा मणिपुरमा गरेको हिंस्रक आक्रमणले म्यान्मार र भारतबीचको सम्बन्धलाई पुनः बहसमा ल्याएको छ । 

उक्त आक्रमणमा असम राइफल्सका एक अधिकारीसहित सातजनाको मृत्यु भएको थियो । 

असम राइफल्समाथिको आक्रमण मणिपुरको पिपुल्स लिबरेसन आर्मी र मणिपुर नागा पिपुल्स फ्रन्टको उग्रवादीहरूले मिलेर गरेका थिए । यी दुवै गुटको क्याम्प म्यान्मारको सीमाभित्र छ । आक्रमणपछि उग्रवादीहरू म्यान्मार सीमातर्फ भागेका थिए । 

भारत र म्यान्मारबीच १६ सय किलोमिटर लामो सीमा छ । त्यहाँ अनेकौं डाँडाकाँडा र दुर्गम क्षेत्रहरू छन् । उग्रवादीहरूलाई भारतमा आक्रमण गरेर म्यान्मारतर्फ भाग्न सजिलो छ । 

नागाल्यान्ड, मणिपुर र असमका उग्रवादीहरू विगत कैयौं वर्षदेखि म्यान्मारको सगाइङ क्षेत्रमा बस्दै आएका छन् । उनीहरू भारतमा आक्रमण गरेर त्यतैतिर भाग्छन् । सन् २०१९ मा म्यान्मार सेनाले तागामा सफाइ अभियान चलाएर उग्रवादीहरूमाथि कारवाही गरेको थियो । तर उनीहरूलाई अहिले म्यान्मारले आश्रय दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्