३१ जेठ २०८३, आइतबार

सम्झौताअनुसार काम नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा

मंसिर २३, २०७८
सम्झौताअनुसार काम नगर्ने ६ निर्माण कम्पनी कालोसूचीमा

सरकारले ६ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । 

सार्वजनिक खरिद अनुगमन कार्यालयको बुधवार बसेको बैठकले बिहीवारदेखि लागू हुने गरी ६ निर्माण कम्पनीलाई १ वर्षदेखि ३ वर्षसम्मका लागि कालोसूचीमा राख्ने निर्णय गरेको कार्यालयद्वारा बिहीवार जारी सूचनामा उल्लेख छ । 

कालोसूचीमा परेको कम्पनीमा काठमाडौंका निलगिरि निर्माण सेवा, एलिट कन्स्ट्रक्सन कम्पनी, च्यांग्रासी निर्माण सेवा, एसएसएम कन्स्ट्रक्सन प्रालि र बाँकेका त्रिदेव निर्माण सेवा तथा एसएनसी निर्माण सेवा प्रालि रहेका छन् । 

सम्झौता अनुसार निर्माण सम्पन्न नगरेकाका कारण सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार सडक डिभिजन कार्यालय लहानको सिफारिसमा निलगिरि निर्माण सेवालाई ३ वर्षका लागि कालोसूचीमा राखिएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिकाको सिफारिसमा एलिट कन्स्ट्रक्सन कम्पनी तथा तारकेश्वर नगरपालिका काठमाडौंको सिफारिसमा च्यांग्रासी निर्माण सेवालाई २/२ वर्षका लागि कालोसूचीमा राखिएकोे छ ।

एसएसएम कन्स्ट्रक्सन प्रालि, त्रिदेव निर्माण सेवा र एसएनसी निर्माण सेवा प्रालिलाई १/१ वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । 

ती कम्पनीले कालोसूची अवधिभर सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तरता हुने कार्यालयले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्