०५ साउन २०८३, मंगलबार

माओवादीलाई पनि अधिवेशनको चटारो– प्रदेश १ को नेतृत्व लिन ३ आकांक्षी

मंसिर २३, २०७८
माओवादीलाई पनि अधिवेशनको चटारो– प्रदेश १ को नेतृत्व लिन ३ आकांक्षी

नेकपा माओवादी केन्द्रले सातवटै प्रदेशमा मंसिर २५ गते प्रदेश अधिवेशन गर्दैछ । प्रदेश १ मा तीनजना आकांक्षी देखिएका छन् ।

सुरेशकुमार राई (हिमाल), प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारी अध्यक्षका आकांक्षी देखिएका छन् । 

पटक–पटक माओवादी फुट्दा समेत साथ दिएका प्रदेश अध्यक्ष समेत रहेका राईले सहमतिका लागि प्रयास गरेको बताएका छन् ।

उनले अहिले नै उम्मेदवारी घोषणा नगरे पनि बहुमत प्रतिनिधिहरूले उठ्न भन्न थालेको बताएका छन् । 

उदयपुरबाट संघीय सांसद जितेका राईको जनाधार समेत राम्रो रहेकाले उनलाई अध्यक्ष बनाउने प्रचण्डको तयारी रहेको माओवादीकै नेताहरू बताउँछन् ।

पाटीभित्र संकट आउँदा प्रचण्डलाई साथ दिएका कारण उनलाई अध्यक्ष बनाउनका लागि प्रचण्ड नै लागेको उनी निकट स्रोतले जनाएको छ । 

जिल्ला कमिटी नै नरहेकाले आकांक्षी समेत धेरै देखिएको उनले बताएका छन् । 

युवाहरूमा लोकप्रिय मानिएका युवा नेता आङ्बो नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता समेत हुन् । प्रदेश १ को राजनीतिक खेलाडीका रूपमा समेत उनलाई चिन्ने गरिन्छ ।

उनलाई गठबन्धन तथा प्रमुख प्रतिपक्षी दलका सांसदहरूले चाणक्य भनेर समेत चिन्ने गरेका छन् । संसदभित्र अध्ययनशील नेताका रूपमा समेत उनलाई चिन्ने गरिएको छ । 

माओवादी फुट्दा मोहन वैद्यतिर लागेका उनी बादल निकटका मानिन्थे । बादल एमालेमा गए पनि उनी भने माओवादीमै बसेका थिए ।

केन्द्रीय सदस्य तथा पाँचथरका इञ्चार्ज रहेका आङ्बोले प्रदेशको पदाधिकारीका लागि यसअघि नै बल गरेका थिए । उनले केही समयअघि प्रचण्डलाई भेटेरै आफू अध्यक्षमा उठ्ने बताएका थिए । 

त्यतिबेला प्रचण्डले हाँसेर टारेको स्रोतको दाबी छ ।

वर्तामान सचिव समेत रहेका हेमराज भण्डारीले पनि अध्यक्षको कार्ड फालिरहेका छन् । धनकुटाका भण्डारी संविधान सभा सदस्य समेत हुन् । 

वैचारिक बहसमा खरो रूपमा उत्रिन सक्ने भण्डारीको कार्यकर्तामा पकड भने कमजोर रहेको माओवादीकै नेता बताउँछन् । 

माओवादीबाट जितेका जनप्रतिनिधिलाई समेत रोक्न नसकेको आरोप उनीमाथि छ । धनकुटामा माओवादी कमजोर बन्दा अध्यक्ष प्रचण्ड पनि उनीसँग त्यति खुसी नरहेको बताइन्छ ।

प्रदेश अधिवेशनमा माओवादीले पार्टीले अहिलेसम्म गरेका काम तथा राजनैतिक र सांगठनिक विषयवस्तु समेटिएको डकुमेन्ट्री पनि प्रस्तुत गर्ने तयारी गरेको छ । 

त्यसका लागि नेताहरू राम कार्की र सुरेश अधिकारी तयारीमा जुटेका छन् । पार्टी अध्यक्ष प्रचण्ड सर्वसम्मतरूपमा प्रदेशको नेतृत्व चुनिनुपर्ने पक्षमा छन् ।

तर, सहमतिको सम्भावना कमजोर देखिएको छ । प्रदेश १ मा १ हजार १ सय ५० प्रतिनिधि सहभागी हुने बुझिएको छ । 

मोरङको विराटचोकमा हुने प्रदेश अधिवेशनको उद्घाटन प्रचण्डले भर्चुअल माध्यमबाट गर्ने माओवादीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्