
नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको चौधौं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
काठमाडौंमा प्रज्ञा भवनमा आयोजित कार्यक्रममा कार्यकर्ताहरूमाझ थापाले आफ्ना अवधारणासहित महामन्त्री पदको उम्मेदवारी घोषणा गरेका हुन् ।
कांग्रेसको विधानले महामन्त्रीलाई पार्टीको राजनीतिक लाइन स्पष्ट गर्ने र त्यसअनुसार संगठन परिचालन गर्ने जिम्मेवारी दिएको भन्दै विधानलाई नै ध्यानमा राखेर अवधारणा बनाएको उनले बताए ।
महाधिवेशनमा प्रतिनिधिले विश्वास गरेर मतदान गरी महामन्त्री जिताएमा कांग्रेसलाई देखिने, सुनिने र बुझ्ने कांग्रेस बनाउने थापाको प्रतिबद्धता छ ।
‘महाधिवेशनपछि कांग्रेसको ध्येय सम्मुन्नत नेपाल र सम्मानित नेपाली बनाउने हुन्छ । २०७८ मंसिरदेखि ठीक चार वर्षमा अधिवेशन हुन्छ । प्रत्येक सदस्य मिसनसँग जोडिन्छ । कांग्रेससँग प्रश्न होइन उत्तर हुन्छ । समस्या होइन समाधान हुन्छ’, उम्मेदवारी घोषणा सभामा थापाले भने ।
देशको अहिलेको अवस्था कांग्रेसले सम्हाल्ने र निर्वाचन जितेर चार वर्ष देशको नेतृत्व लिने गरी कांग्रेसलाई तयार गर्ने आफ्नो एजेण्डा रहेको उनले बताए ।
‘यो एक वर्ष पनि देश कांग्रेसले नै सम्हाल्छ । कांग्रेसलाई भोट हालौं–हालौं भन्ने वातावरण तयार हुन्छ । चार वर्ष सरकार चलाउँछ र समुन्नत नेपाल, सम्मानित नेपाली बनाउने कार्यक्रम गर्छ’, थापाले भने ।
कुनै बेला कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशिल कोइराला बसेको महामन्त्रीको कुर्सीमा बस्ने रहरले मात्रै महामन्त्री पदमा उम्मेदवार हुन नलागेको उनले बताए ।
‘कुनै बेला कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद र सुशील कोइरालाले लगाएको जुत्तामा खुट्टा हालेर कांग्रेसको कार्यालय छिर्ने आँट चानचुने होइन । त्यो तपाईं कार्यकर्ताहरूले नै दिनुभएको आँट हो’, थापाले भने, ‘महामन्त्रीमा जिताउनुभयो भने त्यसपछिका चार वर्ष मेरो परीक्षाको समय हुनेछ । परीक्षा उत्तिर्ण भएँ भने अर्को कक्षाको लागि योग्य भइन्छ ।’
उनले उम्मेदवारी घोषणा गर्दै अहिलेसम्म आफ्नो सभापतिको उम्मेदवार को भन्ने टुंगो नभएको पनि बताए । थापाले भने, ‘मेरो सभापति को हुनुहुन्छ अहिलेसम्म मलाई थाहा छैन । तर, महाधिवेशनमा मलाई मात्रै भोट माग्दिनँ । मैले जसलाई भोट हाल्छु, त्यो नै मेरो सभापति हो ।’
देश बदल्ने कांग्रेस बनाउने भनेर महामन्त्रीमा उम्मेदवारी दिँदै गर्दा सभापतिको उम्मेदवार पनि त्यही भावना बोक्न सक्ने खालको हुनुपर्ने थापाले बताए ।
महामन्त्री भएपछि गर्ने कामबारे उल्लेख गर्दै थापाले भने, ‘विद्यार्थी संगठन, सांसद, मन्त्री भएर काम गर्दा कांग्रेसको एउटा पनि सदस्यको शिर निहुर्याउन दिएको छैन । महामन्त्री भएर काम गर्दैगर्दा नेपाली कांग्रेसको महामन्त्री गलत मान्छे छानिएछ भन्ने अवस्था आउन एक रत्ति पनि दिनेछैन ।’