१२ असार २०८३, शुक्रबार

कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन भोलि, यसरी हुनेछ नेतृत्वको चुनाव

मंसिर २३, २०७८
कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन भोलि, यसरी हुनेछ नेतृत्वको चुनाव

नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन भोलि शुक्रवार हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ ।

महाधिवेशन उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ ।

उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको पार्टी कार्यालयका सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए । कोभिड–१९ महामारीका कारण काठमाडौं उपत्यका बाहिरबाट सहभागी नबोलाइएकाले पार्टीका महाधिवेशन प्रतिनिधि र स्वतःस्फूर्त रूपमा आउने सहभागी मात्र उद्घाटनमा रहने उनले बताए ।

उद्घाटनमा नेपालका सबै मुख्य राजनीतिक दलका प्रमुखहरूका साथै विदेशबाट भारतको भारतीय जनता पार्टी र कांग्रेस आईका प्रतिनिधिको समेत उपस्थिति हुने बताइएको छ । सहभागीलाई हेर्न सजिलोका लागि मञ्च बाहिर ठूला ५ डिस्प्ले राखिएको छ ।

सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मञ्च नजिकै छुट्टै स्टेज बनाइएको छ । स्टेजमा ६० भिडियो क्यामेरासहित सञ्चारकर्मी रहने क्षमता छ । सबैतिर मञ्चको आवाज सुनिने गरी ठूला साउन्ड सिस्टम राखिएको छ ।

महाधिवेशनस्थल पार्टीका झण्डा र चुनाव चिह्न रुख अंकित झण्डाले सिँगारिएको छ भने त्यस वरपर विभिन्न स्थानमा स्वागतद्वार राखिएको छ । महाधिवेशनका उम्मेदवारका ब्यानरले भृकुटीमण्डप भरिभराउ छ । यस महाधिवेशनमा ४ हजार ७०० महाधिवेशन प्रतिनिधि रहने छन् ।

अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौं आइसकेका र उनीहरूका लागि आवश्यक महाधिवेशनसम्बन्धी विवरण सहितको झोला वितरण गर्ने काम बिहीवारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपाबाट शुरू गरिसकिएको पार्टी कार्यालयले जनाएको छ ।

महाधिवेशन प्रतिनिधिहरूका लागि खाना र नास्ताको व्यवस्था भृकुटीमण्डपको बगैंचामा हुने र बासका लागि सुन्धाराका विभिन्न होटलमा व्यवस्था गरिएको छ । यसैगरी बन्दसत्र हुने भृकुटीमण्डपको हलमा पनि ठूलो मञ्च तयार हुनुका साथै हलभित्र पनि सात वटा डिस्प्ले राखिएको छ ।

महाधिवेशनमा नेपाल प्रहरीले सुरक्षाको आवश्यक प्रबन्ध गरेको र ट्राफिक प्रहरीले सवारीको उचित व्यवस्थापनको प्रबन्ध मिलाएको जनाएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन मंसिर २४ गते बिहान १० बजे हुनेछ । उम्मेदवार मनोनयन दर्ता मंसिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ मंसिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र  दाबी विरोधउपर निर्णय मंसिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।
  
उम्मेदवारको पहिलो नामावली प्रकाशन मंसिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मंसिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मंसिर २६ गते दिउँसो १२ः१५ बजे र मतदान मंसिर २७ गते बिहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

सभापति पदको मतगणना मतदान समाप्त भएपछि हुनेछ । सभापति पदको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रियसभा गृह, भृकुटीमण्डपमा लगत्तै गरिनेछ र सो निर्वाचनसम्बन्धी थप कार्यक्रम मतदान स्थलमा नै प्रकाशन गरिने समितिले जनाएको छ ।

सभापति बाहेक अन्य पदाधिकारी र सदस्य पदको मतदान समाप्त भएपछि उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिको रोहवरमा मतपेटिका शिलबन्दी गरी पार्टी केन्द्रीय कार्यालयमा सुरक्षित राखिनेछ । सभापति पदबाहेक बाँकी पदाधिकारी र सदस्यको मतगणना केन्द्रीय कार्यालय सानेपामा हुने तयारी गरिएको छ ।

कांग्रेसले भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा मतदान हुने जनाएको छ । मतदानमा २९ किसिमका मतपत्र हुनेछन् भने उम्मेदवारको संख्या र पदअनुसारका आकार र रंगका मतपत्रको व्यवस्था गरिनेछ ।

महाधिवेशन तयारीका लागि बिहीवार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेको महामन्त्रीको प्रतिवेदन, उपसभापति विमलेन्द्र निधिले प्रस्तुत गरेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन र लेखा समितिका संयोजक श्याम घिमिरेले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।

बैठकले १४औं महाधिवेशन तयारीका क्रममा केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम विधानको विभिन्न धारा उपधारा व्याख्या, वाधा अड्काउ फुकाउ र निलम्बन गर्ने निर्णय अनुमोदनका लागि महाधिवेशनमा प्रस्तुत गर्ने निर्णय पनि गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकले पारित गरेका प्रतिवेदन र प्रस्तावहरू महाधिवेशनमा प्रस्तुत गरिनेछन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये १ सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ । यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला ९, प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१, दलित ९, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेशी ९, थारु ४, मुस्लिम ३, पिछडिएको क्षेत्रबाट १, अल्पसंख्यकबाट १, अपाङ्गबाट १ सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ । – भीष्मराज ओझा/रासस
 

salt training

कमेन्ट गर्नुहोस्