
नेपाली कांग्रेसको १४औं महाधिवेशन आजबाट काठमाडौंमा शुरू हुँदैछ । कांग्रेस सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन गर्दैछन् ।
कांग्रेस महाधिवेशनमा देशका ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्र, भातृ तथा शुभेच्छुक संघसंस्था तथा विदेशबाट गरी ४ हजार ७०० महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् ।
कांग्रेस नेता मीन विश्वकर्माले देश तथा विदेशबाट गरी करीब ४ हजार ७०० महाधिवेशन प्रतिनिधि सहभागी हुने जानकारी दिए ।
कांग्रेस महाधिवेशनमा सहभागी हुन भारत, चीन लगायतका मुलुकबाट समेत विभिन्न राजनीतिक दलका प्रतिनिधि आउँदैछन् । भारतबाट सत्तारूढ दल भाजपा र विपक्षी दल कांग्रेस आईका प्रतिनिधि आउने बताइएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधि पनि सहभागी हुने कांग्रेसले जनाएको छ । केही विदेशी पाहुना भने काठमाडौं आइसकेको पाहुना स्वागत समितिका सदस्य राजिवविक्रम शाहले जानकारी दिए ।
नेपाली कांग्रेसले महाधिवेशन उद्घाटनका लागि २५० जना अट्ने मञ्च बनाएको छ । मञ्चमा ३ लहर हुनेछन् । पहिलो लहरमा ४० जनासम्म कलाकारले एकैपटक प्रस्तुति राख्न सक्नेछन् ।
दोस्रो लहरमा पार्टीका शीर्ष नेता तथा अन्य दलका प्रमुख र विदेशी पाहुना राख्ने गरी मञ्च व्यवस्थापन गरिएको काठमाडौं कांग्रेसका सभापति सबुज बानियाँले जानकारी दिए ।
उनका अनुसार तेस्रो लहरमा पार्टीका केन्द्रीय सदस्य तथा अन्य अतिथिहरूलाई व्यवस्थापन गर्ने गरी तयारी गरिएको छ । मञ्च पछाडि एउटा एलईडी डिजिटल बोर्ड र दायाँबायाँ समेत गरी तीनवटा डिजिटल बोर्ड राखिएको छ । भृकुटीमण्डप बाहिर सडकमा समेत २ वटा डिजिटल बोर्ड रहने छ ।
कांग्रेस काठमाडौंका सचिव तथा प्रचारप्रसार तथा मञ्च व्यवस्थापन उपसमितिका संयोजक गोविन्द पुडासैनीले महाधिवेशन उद्घाटनस्थलमा १ हजार स्वयंसेवक मञ्चको आसपासमा खटिने गरी व्यवस्थापन गरिएको जानकारी दिए । स्वयंसेवकहरूले महाधिवेशनस्थललाई व्यवस्थित गर्ने उनले बताएका हुन् ।
कांग्रेसले महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधि तथा नेता कार्यकर्तालाई स्वागत गर्न कोटेश्वर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौशाला, माइतीघर मण्डला, त्रिपुरेश्वर, थापापली, कालिमाटी, त्रिचन्द्र कलेज, बागबजार, सिंहदरबार, महाराजगन्ज, बल्खु, बालाजुमा गरी १४ वटा स्वागतद्वार बनाएको छ ।
महाधिवेशनस्थल भृकुटीमण्डप समेत विभिन्न स्थानमा १२ स्वागतद्वार बनाइएको छ ।
महाधिवेशनमा ७ हजार बढी सुरक्षाकर्मी परिचालन गरिँदैछ । महानगरीय प्रहरी कार्यालय रानीपोखरी मातहतबाट महाधिवेशनस्थल तथा महाधिवेशनमा सहभागी प्रतिनिधि बसोबास गर्ने क्षेत्रहरूमा सुरक्षा व्यवस्था मिलाइएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी हरि पालले काठमाडौं प्रवेश गर्ने नाकामा राखिएका चेक प्वाइन्ट, महाधिवेशन स्थल र सहरका विभिन्न क्षेत्रमा खटाइने गरी नेपाल प्रहरीतर्फबाट मात्रै ५ हजार बढी प्रहरी कांग्रेस महाधिवेशनमा खटाइने जानकारी दिए ।
उनले प्रहरीले कांग्रेस महाधिवेशनमा प्रविधिको उच्चतम प्रयोग गर्दै सुरक्षा प्रबन्ध मिलाएको जानकारी दिएका हुन् ।
उनका अनुसार महाधिवेशन स्थलको निगरानीका लागि ठाउँठाउँमा सीसी क्यामेरा राखिएको छ भने ड्रोनबाट समेत निगरानी गर्ने गरी व्यवस्था मिलाइएको छ । डिजिटल चेकद्वारा तथा मेटल डिटेक्टरको प्रयोग गरेर महाधिवेशन स्थलमा प्रवेश गर्नेहरूको चेकजाँच हुनेछ ।
महाधिवेशन स्थलमा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट समेत ठूलो संख्यामा सुरक्षाकर्मी खटिइँदैछन् । सुरक्षाको भित्री तहमा नेपाल प्रहरीका सुरक्षाकर्मी रहनेछन् । मतदान र सभास्थललाई भित्री तहका रूपमा राखिएको छ ।
दोस्रो तहमा राष्ट्रिय अनुसन्धान विभाग र प्रहरीका सादा पोसाकका सुरक्षाकर्मी हुनेछन् । मतदान हुने भवन, होटल, र आसपासका क्षेत्रलाई दोस्रो तह मानिएको छ ।
सशस्त्र प्रहरी भने सबैभन्दा अघि अर्थात् बाहिरी घेरामा हुनेछन् । महाधिवेशन स्थलको बाहिरी भाग तथा सडकमा सशस्त्रको सुरक्षाकर्मी हुनेछन् भने विदेशी पाहुना बसोवास गर्ने तथा अकासे पुलहरूमासमेत सशस्त्र प्रहरीका सुरक्षाकर्मी परिचालित हुनेछन् ।
महाधिवेशन स्थलको सुरक्षाको कमान्ड महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले गर्नेछन् भने निगरानीका लागि एआईजी पाल आफैं खटिनेछन् । राजधानीमा खबर छ ।