
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरूको नीतिमा हिँड्ने नभई आफ्नो नीतिमा अरूलाई हिँडाउन सक्ने पार्टी बन्न कांग्रेसलाई सुझाव दिएका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री मात्र नभई सरकारको नेता बन्न सुझाव दिएका हुन् ।
‘देश बनाउन जाने कुरामा सँगै छौं । प्रतिपक्ष भनेको के हो ? संसद्मा छैनौं ? लोकतन्त्रका हामी लडेका छैनौं ?’ ओलीले भने, ‘कसैलाई सरकारबाट हट्नु पर्लाका कि भन्ने चिन्ता होला । एमाले एक्लै हिँड्ने रहर पनि गर्दैन,’ ओलीले यति बोल्दैगर्दा माइक बिग्रिएको थियो ।
ओलीअघि बोलेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई एक्लै नहिँड्न सुझाव दिएका थिए ।
त्यसप्रति कटाक्ष गर्दै ओलीले कसैलाई सरकारबाट हट्नु पर्ला कि भन्ने चिन्ता होला भनेर व्यंग्य गरेका थिए ।
माइक बनेपछि पुन सम्बोधनका लागि फर्केका ओलीले कांग्रेस अरूको नीतिमा हिँड्ने होइन, आफ्नो नीतिमा अरुलाई हिँडाउन सक्नुपर्ने बताए । ‘शेरबहादुरजी प्रधानमन्त्री मात्र होइन सरकारको नेता बन्नुहोस्,’ ओलीले भने ।
सरकारमा प्रचण्ड र माधव नेपाल हावी भएको भन्दै ओलीले देउवालाई सरकारको नेता बन्न सुझाव दिएका हुन् ।