०४ साउन २०८३, सोमबार

माधव नेपाल बुटवल आउने

मंसिर २४, २०७८
माधव नेपाल बुटवल आउने

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल शनिवार बुटवलमा आउने भएका छन् । 

नेकपा (एस) रुपन्देहीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण एवं प्रदेश र जिल्ला कमिटी कार्यालय उद्घाटन कार्यक्रममा सहभागी हुन अध्यक्ष नेपाल बुटवल आउने भएका हुन् । 

नेकपा एकीकृत समाजवादी रुपन्देहीले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण एवं प्रदेश र जिल्ला कमिटी कार्यालय उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । 

शनिबार विहान ११ बजे बुटवल–८ सुख्खानगरस्थित लुम्बिनी प्रदेश र रुपन्देही पार्टी कार्यालय उद्घाटन गर्ने र त्यसलगत्तै योगिकुटीस्थित होटल पौवामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम शुरू गरिने जनाइएको छ । 

पत्रकार सम्मेलनमा नेकपा (एस) केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाईले केपी ओलीको स्वेच्छाचारी र निरकुंश कार्यशैलीका कारण विद्रोह गरेर पार्टी पुनर्गठनमा लाग्नुपरेको बताए । 

नेकपा (एस) रुपन्देही अध्यक्ष राजु गुरुङले डिलमा पुगेको कम्युनिष्ट आन्दोलनलाई माधवकुमार नेपालले बचाएको बताए । 

रुपन्देहीमा बुटवल उपमहानगरसहित ५ नगरपालिका र अधिकांश स्थानीय तहहरूमा कमिटी गठन भइसकेको केन्द्रीय सदस्य तथा रुपन्देही सहइन्चार्ज सिद्धीचरण भट्टराईले बताए । 

कार्यक्रममा पार्टीका उपमहासचिव डा. विजय पौडेल, सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासी, पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष मेटमणि चौधरीलगायतका नेताहरूको उपस्थिति रहने प्रचार विभाग प्रमुख सरिता श्रीसले बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्