
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजतन्त्रको भूत जोगाउने कोसिस भइरहेको बताएका छन् ।
बुटवलमा समाजवादी प्रेस संगठन रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अग्रगामी सोच राख्न आग्रह गरे ।
इतिहासमा हराएका शक्तिलाई खोजी–खोजी ल्याउने प्रयत्न नगर्न आग्रह गर्दै उनले आन्दोलनबाट प्राप्त उपलब्धिलाई जोगाउन राप्रपालाई उनले आग्रह गरे ।
‘राजतन्त्र फर्काउन सम्भव छैन । समाजवादतर्फ देश अघि बढ्यो,’ उनले भने ।
अध्यक्ष नेपालले राष्ट्रियसभा चुनावमा गठबन्धन मिलेर उम्मेदवार तयार गर्ने समेत बताए । कतिपयले गठबन्ध टुटाउने प्रयास समेत गरेको बताउँदै गठबन्धन नटुट्ने उनले बताए ।
‘२०७४ सालको चुनावमा गठबन्धन गर्दा जायज हुने, अहिले नहुने ? राप्रपासँग मिल्ने, माओवादीसँग पाउ पर्ने अनि अहिले जायज छैन भन्ने कुराको कुनै तुक छैन,’ उनले भने ।
दलाल पुँजीवाद हावी भएको र समाजमा विकृति ल्याएको टिप्पणी उनले गरे । ‘नेताहरू त्यसैमा डुबे, यी विकृति हटाउनुपर्छ । जनताका पीडा सम्बोधन गर्नुपर्छ,’ उनले भने ।