
नेपाली कांग्रेस संस्थापनइतर पक्षबाट डा. शेखर कोइरालाको नेतृत्वमा प्रभावशाली युवा नेताहरूसहितको प्यानल बन्ने भएको छ ।
शेखर प्यानलबाट महामन्त्रीमा गगन थापा उम्मेदवार बन्ने पक्का भइसकेको छ भने महामन्त्रीको अर्को पदमा रक्षामन्त्री समेत रहेका नेता मीनेन्द्र रिजाल र कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मामध्ये एकजनालाई अगाडि सार्ने तयारी छ ।
संस्थापनइतरबाट यसअघि गगन र मीनेन्द्र महामन्त्रीको उम्मेदवार बन्ने पक्काजस्तै थियो । तर, देउवा प्यानलबाट प्रवक्ता शर्मा महामन्त्रीको उम्मेदवार बन्न नपाउने भएपछि उनलाई समेत समेटेर प्यानल बनाउने तयारी भएको शेखर निकट स्रोतले लोकान्तरलाई जानकारी दियो ।
'विश्वप्रकाश कि मीनेन्द्र भन्नेमा छलफल भइरहेकाले प्यानल टुंगो लगाउन समय लागेको छ,' शेखर निकट स्रोतले लोकान्तरलाई जानकारी दियो ।
विश्वप्रकाशले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा यसअघि नै गरिसकेका छन् ।
देउवाले सिटौला पक्षका प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाउने तयारी गरेपछि शर्मासँगै गृहमन्त्री समेत रहेका प्रभावशाली नेता बालकृष्ण खाँण समेत महामन्त्रीको उम्मेदवारबाट रिङ आउट हुने अवस्था आएको थियो ।
देउवानिकट स्रोतका अनुसार उनले महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेललाई अगाडि सार्ने तयारी गरेका छन् ।
संस्थापनइतरबाट सभापतिमा शेखर र प्रकाशमान सिंह दुवैले उम्मेदवारी दिने पक्का भैसकेको छ ।
प्रकाशमानले सुजाता कोइरालालाई उपसभापतिको उम्मेदवार बनाउने तयारी गरेका छन् । पदाधिकारीका अन्य उम्मेदवार भने पक्का भइसकेको छैन ।
शेखरले भने उपसभापतिमा शशांक कोइराला, चन्द्र भण्डारी, महेश आचार्य लगायत नेताबाट दुईजनालाई उम्मेदवार बनाउने तयारी गरेका छन् ।