
नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्मा अमृत बोहरा नियुक्त भएका छन् ।
एमालेको दशौं महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठकले शनिवार उनलाई नियुक्त गरेको हो ।
यस्तै बैठकमा शपथ ग्रहण बाँकी भएका केन्द्रीय सदस्यको शपथ गराइएको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए ।
शनिवारदेखि शुरू बैठकमा १५ एजेन्डामाथि छलफल हुने बताइएको छ ।
कार्यसूचीअनुसार क्रमसँगै छलफल र निर्णय गर्दै जाने तय भएको जनाइएको छ ।
बैठकमा केन्द्रीय सदस्यहरुको शपथ, महाधिवेशनको समीक्षा, केन्द्रीय कमिटीमा सदस्यहरूको मनोनयन, पोलिटब्यूरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन हुने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
एमालेको जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान, वरीयता क्रम निर्धारण र जनसङ्गठनको सुदृढीकरण अभियान पनि बैठकका एजेन्डामा रहेका छन् ।
बैठकअघि अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सचिवालय बैठक बसेको थियो । सचिवालय बैठकले केन्द्रीय कमिटीमा लैजाने एजेन्डाका बारेमा छलफल भएको बताइएको छ ।