
नेपाली कांग्रेसका नेता गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिँदै ‘समुन्नत नेपालः सम्मानित नेपाली’ अवधारणा आफूले २०७२ सालमै ल्याएको बताएका छन् । सामाजिक सञ्जालमार्फत् उनले एमाले अध्यक्ष ओलीले हतारमा टिप्पणी गरेको आरोप लगाए ।
महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै थापाले ‘समुन्नत नेपालः सम्मानित नेपाली’को संकल्प गर्दै घोषणापत्र जारी गरेका थिए । सो विषयमा ओलीले आफूले ल्याएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को विस्तारित रुप भएको भन्दै टिप्पणी गरेका थिए ।
नेता थापाले भने आफूले २०७२ सालमा संविधान जारी भएपछि भएको १३ औं महाधिवेशनमै कांग्रेसको सम्पूर्ण राजनीति अब ‘समुन्न नेपालः सम्मानित नेपाली’को निर्माणमा समर्पित हुनुपर्छ भनेर निरन्तर प्रस्ताव गर्दै आइरहेको बताए ।
‘कांग्रेसको सम्पूर्ण राजनीति अब ‘समुन्नत नेपालःसम्मानित नेपाली’को निर्माणमा समर्पित हुनुपर्छ र नीति र कार्यक्रमसहित त्यसलाई कार्यान्वयन गर्नसक्ने बन्नका लागि पार्टीको रुपान्तरण हुनुपर्छ भनेर निरन्तर प्रस्ताव गर्दै आएको छु,’ उनले लेखेका छन्, ‘यो महाधिवेशनपछि सैद्धान्तिकरुपले पुनर्जागृत र रुपान्तरित नेपाली कांग्रेसले सामाजिक लोकतन्त्रको सैद्धान्तिक खाकाभित्र ‘समुन्नत नेपालःसम्मानित नेपाली’को संकल्पसहित राष्ट्रिय अभियान प्रारम्भ गर्दा तपाईंसँग जम्काभेट हुने नै छ । त्यतिञ्जेलसम्मका लागि जय नेपाल ।’