
बङ्गलादेशका लागि अमेरिकी राजदूत अर्ल आर मिलरलाई देशको अपराध विरोधी सशक्त बल ‘¥यापिड एक्शन बटालियन’ (आरएबी)का अधिकारीहरूमाथि वासिङ्टनले लगाएको प्रतिबन्धबारेमा सोधपुछ गरिएको बङ्गलादेशका विदेश सचिव मसुद बिन मोमेनले शनिबार बताएका छन् ।
अमेरिकी ‘ट्रिजरी’ विभाग र विदेश विभागले शुक्रबार मानवअधिकारको गम्भीर दुरुपयोगको आरोपमा सात जना भूतपूर्व तथा वर्तमान आरएबी अधिकारीहरू र एउटा संस्थाको रूपमा आरएबीसमेत प्रतिबन्ध लगाएको बताइएको छ । विदेश सचिवले बङ्गलादेश सरकारसँग कुनै पूर्व परामर्श बिना अमेरिकी प्रशासनले यो निर्णय एकपक्षीय रूपमा लिएकोमा बङ्गलादेशले चासो व्यक्त गरेको विदेश मन्त्रालयद्वारा शनिबार जारी बयानमा बताइएको छ ।
उनले प्रतिबन्ध लगाउनका लागि उल्लेख गरिएका विषयहरु दुई पक्षबीच नियमित संस्थागत वार्ताको ढाँचाअन्तर्गत समेत सक्रिय छलफलका क्रममा रहेको र अझै पनि अमेरिकी निर्णय कुनै पूर्व सूचना बिना नै आएको बताए ।
मोमेनले बङ्गलादेश सरकार कानुन र मानव अधिकारको शासनलाई कायम राख्न प्रतिबद्ध रहेको र यसका कानून प्रवर्तन निकायहरूले गरेको कुनै पनि गलत कार्य वा गलत कार्यप्रति ‘शून्य सहिष्णुता’ को दृष्टिकोण कायम राखेको कुरामा जोड दिए । उनले वार्ता, सहभागिता र सहयोगमार्फत समस्याको समाधान गर्नुपर्ने आवश्यकतामाथि जोड दिए ।