
संसदलाई पारदर्शी र जनउत्तरदायी बनाउन संचार माध्यम र पत्रकारको भूमिका महत्वपूर्ण हुने सरोकारवालाले बताएका छन् । आउटलाइन मिडियाले बिहीवार काठमाडौंमा आयोजना गरेको अन्तक्रिर्या कार्यक्रममा सरोकारवालाले संसदलाई जनउत्तरदायी बनाउन पत्रकारको भूमिका महत्वपूर्ण हुने बताएका हुन् ।
वरिष्ठ पत्रकार राजेन्द्र दाहालले पत्रकारले गर्ने सही रिर्पोटिङले गलत कानून बन्नबाट रोकिने बताए । सूचनाको हक सम्बन्धी ऐन २०६४ बन्ने समयमा मिडियाले गरेको वस्तुनिष्ठ रिर्पोटिङका कारण गलत कानून बन्नबाट रोकिएको अनुभव उनले सुनाए ।
‘सूचनाको हक सम्बन्धी विधेयक ल्याउदा शुरुमा पत्रकारको लागि भनेर व्यबस्था गरिएको थियो, मिडियाको रिर्पोटिङपछि पत्रकारको लागि नभइ नागरिकको लागि हो भन्ने व्यबस्था समेटियो’ दाहालले भने ।
संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले संचार माध्यमले गर्ने रिर्पोटिङका कारण संसदीय गतिविधि प्रभावकारी हुने विश्वास व्यक्त गरे । पत्रकारलाई सूचनाको पहुँच स्थापित गर्न संसद सचिवालयले कुनै कसर बाँकी नराख्ने उनले बताए ।
कार्यक्रममा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाल, वरिष्ठ पत्रकार टंक पन्त, पत्रकार सरोज दाहाल लगायतले संसदीय पत्रकारिताका बदलिँदो आयामबारे धारणा राखेका थिए ।