
नेकपा (माओवादी केन्द्र)का सङ्गठन विभाग प्रमुख तथा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले माओवादीका सबै कमिटी उत्पादनको एकाइ बन्नुपर्नेमा जोड दिएका छन् ।
नेकपा (माओवादी केन्द्र)को आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ को उद्घाटन सत्रमा बोल्दै सङ्गठन विभाग प्रमुख तथा अर्थमन्त्री शर्माले समृद्धिको प्रणालीमा युवालाई जोडेर समृद्धिको अभियान थाल्ने योजना अगाडि बढाइने बताए । माओवादीको एजेण्डा बलियो हुँदा पनि स्वामित्व लिन नसक्दा प्रतिगामीहरू जुर्मराएको उनले टिप्पणी गरे ।
अर्थमन्त्री शर्माले सम्मेलन समीक्षाको उत्सव भएको तर्क गर्दै कर्णालीका जनताको आन्दोलन युद्धका सेनाभन्दा पनि माथि रहेको भनी प्रशंसा गरे ।
माओवादी केन्द्रका कर्णाली प्रदेश इन्जार्च शक्तिबहादुर बस्नेतले आजको व्यवस्थाको इञ्जीनियरिङ माओवादीले गरेको दाबी गर्दै यसको पाइलटिङ पनि माओवादीले नै गर्नुपर्नेमा जोड दिए ।
प्रदेश सम्मेलनमा केन्द्रका कर्णाली प्रदेश सहइन्चार्जत्रय कालीबहादुर मल्ल, महेन्द्रबहादुर शाही र टेकबहादुर बस्नेत, अध्यक्ष राजकुमार शर्मा, सचिव रामदीप आचार्यलगायत केन्द्रीय सदस्य, जिल्ला नेता, प्रतिनिधि तथा पर्यवेक्षकसहित करिब एक हजार २०० को सहभागिता रहेको छ । उद्घाटनसत्र सम्पन्न भएको तर बन्दसत्र भोलि सुरु हुने प्रदेश सचिव आचार्यले बताए ।रासस