०१ असार २०८३, सोमबार

जोमसोम–कोरला सडकको ६ खण्ड निर्माण पूरा

मंसिर २६, २०७८
जोमसोम–कोरला सडकको ६ खण्ड निर्माण पूरा

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत जोमसोम–कोरला सडकको ६ वटा खण्ड स्तरोन्नतिको काम सकिएको छ । 

मुस्ताङको सदरमुकाम जोमसोमबाट चीनको सिमाना कोरला नाका जोड्ने ११० किलोमिटर सडक २ लेनको ग्राभेल बनाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाले विक्रम संवत् २०७३/७४ देखि ७ वटा खण्डमा ठेक्का लगाएको थियो ।

आयोजनाका प्रमुख जगत प्रजापतिले चराङ–छोसेर २५ किलोमिटरबाहेक अन्य ६ वटा प्याकेजको ७५ किलोमिटर सडक विस्तार, पर्खाल, नाली निर्माण, घुम्ती र ग्रेड सुधार गरी ग्राभेल गर्ने काम सकिएको बताए ।

‘जोमसोम–कोरला खण्डको ६ वटा प्याकेजमा सडक स्तरोन्नति सकिएको छ,’ उनले भने, ‘ढिलासुस्तीले प्रभावित भएको चराङ–छोसेर खण्डलाई गति दिन निर्माण व्यवसायीलाई ताकेता गरिरहेका छौं ।’

जोमसोम–कोरला सडक स्तरोन्नतिका लागि २ अर्ब ६ करोड बजेट विनियोजन भएको थियो । जोमसोम–ताङ्वे १८ किलोमिटर बज्रगुरु खड्गकृष्ण जेभी, ताङ्वेबाट चैलेसम्म ११ किलोमिटर दिवाडाफे एपेक्स जेभी, चैलेबाट भेनासम्म ११ किलोमिटर कान्छाराम कोसी एण्ड न्यौपाने जेभी र भेनाबाट झैतेसम्म १२ किलोमिटर सडक कञ्चनजंघा लामा बिल्डर्स बिरुवा जेभीले ठेक्का लिएका थिए । 

झैते–चराङ १९ किलोमिटर कञ्चनजंघा लामा मोतीदान जेभी र छोसेर–कोरला १४ किलोमिटर सडक स्तरोन्नतिको जिम्मा रौताहा एपेक्स जेभी कन्ट्रक्सनले लिएका थिए । तामाङ गौरी पार्वती कोसी एण्ड न्यौपाने जेभीले ठेक्का लिएको छैटौं खण्डको चराङ–छोसेर २५ किलोमिटर सडकमा ३ वर्षदेखि काम भएको छैन ।

उक्त खण्डका लागि २४ करोड रुपैयाँ बजेट विनियोजन भएकामा १५ करोड रुपैयाँ मात्र खर्च भएको छ । ६५ प्रतिशत निर्माण सकिएको छ । चराङमा कुलो र ढलको काम बाँकी छ । अरू ठाउँमा कटिङ र फिनिसिङको काम हुन बाँकी छ । 

लामो समयदेखि सो खण्डमा निर्माण कम्पनीले बेवास्ता गर्दै आएकाले उसको नाममा जम्मा भएको १ करोड ९ लाख रुपैयाँ मोबिलाइजेसन आयोजनाको खातामा फिर्ता ल्याएको प्रजापतिले बताए । भौतिक पूर्वाधार मन्त्रालयले कोभिडका कारण कम्पनीलाई यही चैत महिनाभित्र काम सक्न समयसीमा दिएको छ ।

सरकारले दिएको अवधिमा पनि निर्माण कम्पनी काममा नफर्किए ठेक्का सम्झौता रद्द गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाइने आयोजना प्रमुख प्रजापतिले बताए । 

राष्ट्रिय गौरवका आयोजनाका रूपमा रहेको यस सडकखण्डको सबैभन्दा चुनौतीपूर्ण स्थानमा भने स्तरोन्नतिको काम सम्पन्न भएको छ । आयोजनाका अनुसार समरको भीर, झोखोला र घ्याकरको अप्ठ्यारो खण्ड निर्माण सम्पन्न भइसकेको छ । घ्याकरमा मापदण्डअनुसार ग्रेड मिलान गरेर वैकल्पिक सडक निर्माण भइसकेको आयोजना प्रमुख प्रजापतिले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्