
बुटवलमा अन्तर्राष्ट्रियस्तरको सेवासुविधासहित ड्रिम इन्टरनेशनल होटल प्रा.लि. सञ्चालनमा आएको छ ।
बुटवल मिलनचोकमा ५० करोड लगानीमा यस क्षेत्रमै पहिलो बुटिक होटेलका रुपमा ड्रिम इन्टरनेसनल होटल सञ्चालनमा आएको हो ।
करीब ५ कठ्ठा आफ्नै स्वामित्वको जग्गामा नेपालीपन झल्किने गरी बनेको यो तीन तारेस्तरको होटल हो । आइतवार होटलको शुभारम्भ गरिएको छ ।
सोही अवसरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा होटलका अध्यक्ष गोपाल रानाले होटलको औपचारिक रुपमा शुभारम्भ भएको र सेवा विस्तारको काम पनि जारी राखिएको जानकारी दिए ।
रानाकै नेतृत्वमा पारिवारिक लगानीमै रुपन्देहीकै तिलोत्तमा मणिग्राममा चार तारे होटेल ड्रिम ल्यान्ड गोल्ड रिसोर्टसमेत सञ्चालनमा छ ।
कार्यक्रममा होटलका सञ्चालकहरू गोपाल रानासहित विष्णुबहादुर थापा, गीता थापा राना, सुविन थापा, विधानविक्रम राना र सिद्धान्तविक्रम रानाको उपस्थिति थियो ।
के–के छन् सुविधा ?
हाल ६ तलाको संरचनामा बनेको होटलमा चारवटा स्वीट रुम र बाँकी सुपर डिलक्स रुम छन् । रुमको स्तर र सुविधा थप्ने र विस्तार गर्ने क्रम भने जारी रहेको बताइएको छ ।
दुई वटा सभाहल छन् । थप बैठक कक्ष थप्ने सञ्चालकको तयारी छ । त्यस्तै होटलमा डाइनिङ रेष्टुरेन्ट, बार क्याफे तथा ट्यारेस रेष्टुरेन्ट छन् । कार्यक्रम र परिवारका लागि उपयुक्त हुने अलग–अलग क्याफे तयार भएका छन् ।
होटेलको बाहिरी बनावट र सुविधासम्पन्न रुमहरू बाह्य पर्यटकलाई पनि आकर्षित गर्ने खालको बनाइएको सञ्चालकको दाबी छ ।
होटेलमा १०० जना क्षमताको दुई वटा कन्फेरेन्स/मिटिङ हल, ग्राउण्ड फलोरमा फाइन डाइनिङ रेष्टुरेन्ट, माथिल्लो तलामा बार र क्याफे तथा ट्यारेस रेष्टुरेन्ट रहेका छन् ।
बुटवल उपमहानगरले नमूना बाइपास सडकका रुपमा विस्तार गरिरहेको बुटवलको कालिकापथ सडकको प्राइम लोकेसनमा रहेको होटलमा पर्याप्त पार्किङस्थलको व्यवस्था छ ।