
पन्ध्रौं विश्व फाना पौडी च्याम्पियनसिप ९सर्ट कोर्स० मा सहभागी हुन नेपाली पौडी टोली सोमवार आबुधाबी जाँदैछ ।
डिसेम्बर १५ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष/महिला गरी ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
पुरुषको २०० मिटर फ्रिस्टायल र व्यक्तिगत मिड्लेमा नासिर हुसैन तथा ५० र १ सय फ्रिस्टायलमा एलेक्स शाहले प्रतिस्पर्धा गर्ने छन् ।
महिलाको ५० र १०० मिटर फ्रिस्टायलमा अनुश्रिया तण्डुकार तथा ५० र १०० मिटर ब्रेस्टस्ट्रोकमा उपास्ती महर्जनले सहभागिता जनाउने छन् । अमेरिकामा रहेका एलेक्स त्यतैबाट आबुधाबी जाने नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जनाएका छन् ।
प्रशिक्षकमा नयना शाक्य तथा व्यवस्थापकमा अनिश महर्जन रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतवार बिदाइ गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले नयाँ उपलब्धि हासिल गर्न खेलाडीलाई उच्च मनोबलका साथ प्रदर्शन गर्न भन्दै खेलाडीले व्यवस्थापनमा नभई आफ्नो खेल र प्रशिक्षणतिर मात्र ध्यान दिन आवश्यक रहेको बताए ।
उनले राष्ट्रिय टिमको प्रदर्शन व्यवस्थित गर्न राखेपले हाइपर्फमेन्स कमिटी गठनको तयारी गरिरहेको जानकारी गराए ।