
नेपाल उद्योग वाणिज्य महासंघले आगामी बुधवार काठमाडौंमा कोभिड पश्चातको नव उत्थान सम्मेलनको गर्ने भएको छ ।
विश्वव्यापीरूपमा देखापरेको कोभिड १९ को महामारी प्रकोपबाट अर्थतन्त्रमा परेको प्रभावका साथै अर्थतन्त्रलाई अझ बढी गतिशिल तथा चलायमान बनाउन हुनुपर्ने व्यवस्थाहरू सहित छलफल गर्ने उद्देश्यले महासंघले उक्त सम्मेलनको आयोजना गर्न लागेको हो ।
कोभिड–१९ बाट बढी प्रभावित क्षेत्रहरू पर्यटन तथा मनोरञ्जन, साना, घरेलु तथा मझौला उद्यम व्यवसाय, निर्यातका साथै बैंकिङ क्षेत्रमा केन्द्रित रहेर उक्त सम्मेलन आयोजना गरिने छ । सम्मेलनको मुख्य थिम बदलिँदो परिस्थितिमा तिव्र र दिगो आर्थिक बृद्धिको बहस रहेको छ ।
सम्मेलन, अर्थतन्त्रलाई पुनः चलायमान कसरी बनाउने, समस्या समाधानका उपायहरू के–के हुन सक्छन, कसरी थलिएको व्यवसाय क्षेत्रलाई पुनरूत्थान मात्र नभई व्यवसायमा थप उर्जा भर्न सकिन्छ भन्ने विषयमा केन्द्रीत हुनेछ ।
सम्मेलनको प्रमुख अतिथि अर्थमन्त्री जनार्दन शर्मा हुनेछन् ।
महासंघको सचिवालय टेकुमा मंसिर २९ गते बुधबार, विहान ९ः३० बजेदेखि शुुरु हुने सम्मेलन सांझ ६ बजेसम्म चल्ने महासंघले जनाएको छ ।
सम्मेलनको उद्घाटन शत्रलाई अर्थमन्त्री शर्मा, महासंघका अध्यक्ष शेखर गोल्छा, आइएलओ नेपालका निर्देशक डा. रिचर्ड हवार्ड र महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले सम्बोधन गर्नेछन् ।
उद्घाटन पछिको पहिलो शत्रको अध्यक्षता नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गर्नेछन् ।
महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले निर्यात र बैकिङ क्षेत्रमा कार्यपत्र प्रस्तुत गर्ने उक्तशत्रमा नेपाल बैकर्स संघका अध्यक्ष अनिल उपाध्यायले आफनो धारणा राख्नेछन् ।
अर्को प्राविधिक शत्र निर्यात प्रवद्र्धनका विषयमा हुनेछ भने सो शत्रको अध्यक्षता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले गर्नेछन् ।
महासंघका उपाध्यक्ष रामचन्द्र संघाईले कार्यपत्र प्रस्तुत गर्ने उक्त शत्रमा निर्यातकर्ता सुनिता शेर्पाले आफ्नो धारणा राख्नेछिन् ।
त्यस्तै अर्कोशत्र लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धनका विषयमा हुने छ । उक्त शत्रको अध्यक्षता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले गर्नेछन् ।
महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् भने उद्यमी श्याम वदन श्रेष्ठ र आइएलओ जेनेभाबाट एसएमइज विज्ञले आफ्नो धारणा राख्नेछन् ।