
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहभागीको भोजनका लागि दैनिक दुई हजार ४०० किलो माछा कलकत्ताबाट आयात गरिएको छ ।
मंसिर २४ गतेदेखि कांग्रेसको महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको छ ।
भोजनको प्रबन्ध दियालो र अनुपम फुडल्याण्डले संयुक्त रुपमा गरेका छन् ।
दियालो फुडल्याण्डका प्रबन्ध निर्देशक खोमराज खरालले दैनिक ६ हजार व्यक्तिलाई तीन छाक भोजन खुवाउने गरेको र माछा कतिपय शाकाहारीले समेत खाने हुँदा माछाको खपत बढेको बताए ।
कांग्रेसको महाधिवेशनभर करीब १० टन माछा खपत हुने अनुमान उनको छ ।
महाधिवेशनमा दैनिक ८०० किलो कुखुरा र ८०० किलो खसीको मासु खपत हुने गरेको छ । महाधिवेशनको बिहान नास्ताका लागि झन्डै १२ हजार अण्डा खपत भएको थियो ।
महाधिवेशनमा दैनिक ६ हजार व्यक्तिका लागि भोजनको तयारी छ । प्रतिदिन प्रतिव्यक्ति दुई हजार २०० का दरले बिहानको नास्ता र दुई छाक खाना खुवाउनुपर्ने सम्झौता भएको दियालो फुडल्याण्डका अध्यक्ष जनप्रकाश चापागाईंले जानकारी दिए ।
खानामा शाकाहारी र मांसाहारी दुवैथरीका भोजन तयार गरिँदै आएको उनले बताए ।