
विराटनगरस्थित कोइराला निवासमा कुनै बेला मानिसहरूको थामिनसक्नु भीडभाड हुन्थ्यो । भीड भए पनि कोइराला निवासबाट कोही भोकै फर्कनुपर्दैन थियो ।
जतिसुकै पाहुना हुन् या आगन्तुक, उनीहरूको हातहातमा चिया र खाजाको प्लेट पुग्थ्यो ।
कृष्णप्रसाद कोइराला, बीपी हुँदै गिरिजाप्रसादसम्म आइपुग्दा पनि कोइराला निवासको यो कल्चर कायम रह्यो ।
२०४०–०५० को दशकताका गिरिजाप्रसाददेखि नेत्री नोना कोइरालासम्मले केही नखाई कसैलाई पनि जान नदिनू भन्ने गरेका थिए ।
गिरिजाप्रसाद कोइराला पार्टी सभापति र प्रधानमन्त्री हुँदा महत्त्वपूर्ण निर्णय लिन कोइराला निवासमै आउने गरेका थिए ।
गिरिजा तथा नोना कोइरालाले धानेको परम्परालाई यति बेला डा. शेखर काेइरालाले धानिरहेका छन् ।
हाल कांग्रेस सभापतिको उम्मेदवार रहेका शेखर काठमाडौंभन्दा धेरै समय विराटनगरमै आफ्नो निर्वाचन क्षेत्रको काममा व्यस्त हुन्छन् ।
उनी कोइराला निवासमा आएको थाहा पाउनेबित्तिकै विभिन्न अपेक्षासहित धेरै भीड लाग्ने गरको छ । शेखरले महत्त्वपूर्ण भेटघाट निवासमै गर्छन् ।
पत्रकारसँगको अन्तरक्रिया र संवाद पनि उनले निवासमै गर्छन् । शेखर भन्छन्, ‘यो विरासत बोकेको घर हो । पहिला जस्तो महत्त्व बोकेको थियो, अहिले पनि त्यस्तै छ ।
गिरिजाप्रसाद कोइरालाको निधनपछि धेरै कार्यकर्तामा निराशा छाएको थियो । कोइराला निवासमा चहलपहल पनि कम भएको थियो ।
यो क्रम केही वर्ष कायम रह्यो । पछिल्लो केही वर्षयता कोइराला परिवारको त्यो कल्चर र विरासत शेखरले धानेका छन् ।
कार्यकर्ताहरूमा पनि आशा पलाएको देखिन्छ । कोइराला निवासमा भेटिएका कार्यकर्ता भन्छन्, ‘हामीले कोइराला निवासमा गिरिजाबाबु जस्तै माया गर्ने उत्तराधिकारी पाएका छौं ।’
डा. शेखरलाई भेट्दा गिरिजाप्रसादको झल्को मेटिने नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय अध्यक्ष पुस्कर आचार्य बताउँछन् ।
नेपाली राजनीतिको मियोका रूपमा कोइराला परिवारलाई नै लिने गरिएको भन्दै उनले कांग्रेस सबल बन्नका लागि कोइराला परिवारमा पुनः एकपटक नेतृत्व आउनुपर्ने बताए ।
प्रजातान्त्रिक आन्दोलन र समाज सुधारको बिगुल फुकिएको घरबाट कांग्रेसको जागरण थाल्नुपर्ने आचार्यको भनाइ छ ।
यही घरबाट मात्रिका, बीपी र गिरिजाप्रसाद कोइराला नेपालका प्रधानमन्त्री भए ।
कांग्रेसमा नेतृत्व लिन कृष्णप्रसाद कोइरालाको नाति पुस्ता अहिले दौडधुपमा छ । तेस्रो पुस्ताका डा. शेखर सभापतिको उम्मेदवार छन् ।
उनलाई भाइ डा. शशांक कोइरालाको समेत साथ छ ।
युवा नेता गुरुराज घिमिरे बीपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाबाबुको पालाको जस्तो कांग्रेस बनाउन पनि कांग्रेसको नेतृत्व परिवर्तन आवश्यक रहेको बताउँछन् ।