३२ असार २०८३, बिहीबार
कांग्रेस महाधिवेशन

कांग्रेस महाधिवेशनः मतदान अन्तिम चरणमा, सभापतिको मतगणना आजै राति हुने

मंसिर २७, २०७८
कांग्रेस महाधिवेशनः मतदान अन्तिम चरणमा, सभापतिको मतगणना आजै राति हुने

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतदान अन्तिम चरणमा पुगेको छ ।

केन्द्रीय निर्वाचन समितिले मतदानको समय राति ९ बजेसम्म तोकेको छ । 

मतदानको समय अन्तिम चरणमा पुग्नैलाग्दा लामबद्ध मतदाताको संख्या समेत घट्दै गएको छ ।

सोमवार बिहान ८ बजेदेखि शुरू हुने भनिए पनि साढे ११ बजेपछि मात्रै मतदान शुरू भएको थियो । मतदान सकिएलगत्तै सभापति पदको मतगणना हुने निर्वाचन समितिले जनाएको छ । 

महाधिवेशनस्थल भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा मतदान हुँदैछ । महाधिवेशनमा १ सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री तथा केही खुला र केही समावेशी केन्द्रीय सदस्यको लागि मतदान हुँदैछ ।

सभापतिका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्यासी छन् । देउवा प्यानलबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल प्रतिस्पर्धामा छन् । 

शेखर प्यानलबाट उपसभापतिमा डा. चन्द्र भण्डारी र धनराज गुरुङ तथा महामन्त्रीमा गगन थापा र डा। मीनेन्द्र रिजाल प्रतिस्पर्धामा छन् । प्रकाशमान सिंह प्यानलबाट उपसभापति सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका छन् । 

सभापतिमा पहिलो चरणमा कसैले स्पष्ट बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी ल्याउन नसके दोस्रो चरणमा निर्वाचन गर्ने कांग्रेस विधानको व्यवस्था छ ।

मंसिर २४ गते शुरु भएको कांग्रेसको चौधौं महाधिवेशन नयाँ नेतृत्व चयन गरेर सम्पन्न हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्