
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना शुरू भएको छ ।
सभापति पदका मतपत्र खसालिएका ३ वटा ट्याङ्की खोलेर मतगणना धमाधम भइरहेको निर्वाचन समितिले जनाएको छ ।
मतगणना मंगलवार बिहान पौने ४ बजेदेखि शुरू भएको हो । ३ ठाउँबाट धमाधम मतगणना गरेर छिट्टै परिणाम सार्वजनिक गर्ने र दोस्रो चरणको मतदानमा जानुपर्ने भएमा मंगलवारै मतदान गराउने तयारी निर्वाचन समितिले गरेको स्रोतले जनाएको छ ।
मंगलवार राति २ बजेदेखि नै मतगणना शुरू गर्ने भनिए पनि ढिला गरी शुरू भएको हो ।
महाधिवेशनस्थल भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा सोमबार बिहान साढे ११ बजेबाट शुरू भएको मतदान १२ घण्टापछि राति साढे ११ बजे सम्पन्न भएको थियो ।
कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकामा ४ हजार ६७९ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस नेतृत्वका लागि सभापतिमा वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेताहरू डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।