
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा पहिलो चरणमा कसैले बहुमत ल्याउन नसकेपछि दोस्रो चरणमा धकेलिएको छ ।
मंगलवार बिहान सम्पन्न मतगणनामा पहिलो चरणमा कसैले आवश्यक बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो ।
पहिलो चरणमा प्रधानमन्त्री एवं निवर्तमान सभापति शेरबहादुर देउवाले २२५८ मत प्राप्त गरेका थिए । सभापतिका अर्का प्रत्यासी डा. शेखर कोइरालाले १७२९ मत प्राप्त गरे ।
यस्तै प्रकाशमान सिंहले ३७१ र विमलेन्द्र निधिले २४९ मत प्राप्त गरे । सभापतिका पाँचाैं प्रत्यासी कल्याण गुरुङले भने २० मत मात्रै प्राप्त गरे ।
अब धेरै मत ल्याउने देउवा र कोइरालाबीच दोस्रो चरणको प्रतिस्पर्धा हुने भएको छ । दोस्रो चरणका लागि हुने समीकरणले नतिजामा प्रभाव पार्नेछ ।
दोस्रो चरणमा गए देउवाविरुद्ध मोर्चाबन्दी गर्ने निधिले बताइसकेका छन् ।
संस्थापनइतर समूहका उम्मेदवार प्रकाशमान सिंह र निधिले समर्थन गरेमा शेखरलाई सहज हुनेछ ।
सोमवार मध्यरातसम्म चलेको मतदानमा ४ हजार ७४३ मध्ये ४ हजार ६७९ जनाले मतदान गरेका थिए । सभापतिको मतगणना गरेपछि मात्र अन्य पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना हुनेछ ।