अमेरिकाले गरेको अनियन्त्रित गतिविधिको जवाफ फर्काउनका लागि प्रत्याक्रमण गर्ने चेतावनी चीनले दिएको छ ।
बेइजिङले मानवअधिकार उल्लंघन गरेको आरोप लगाउँदै विभिन्न चिनियाँ व्यक्ति र कम्पनीहरूमाथि अमेरिकाले प्रतिबन्धको घोषणा गरेपछि चीनको चेतावनी आएको हो ।
शुक्रवार अमेरिकाले चिनियाँसँगै म्यान्मार, उत्तर कोरिया र बंगलादेशका व्यक्ति र कम्पनीहरूमाथि पनि प्रतिबन्ध लगाएको थियो ।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनबिनले प्रतिबन्धलाई खराब कामको संज्ञा दिए ।
‘अमेरिकालाई यस गलत निर्णय तत्काल फिर्ता लिन र चीनको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न हामी आग्रह गर्दछौं । अमेरिकाले अनियन्त्रित गतिविधि जारी राखेमा चीनले त्यसको सशक्त प्रतिकार गर्नेछ,’ वाङले सोमवार बेइजिङमा नियमित पत्रकार सम्मेलनका क्रममा बताए ।
सिन्च्याङ स्वायत्त क्षेत्रमा मुस्लिम उइगुर समुदायका विषयमा चीनले अपनाएको नीतिलाई प्रतिरक्षा गर्दै उनले त्यस क्षेत्रमा हिंसा, आतंकवाद, पृथक्तावाद र धार्मिक अतिवादी शक्तिहरूका विरुद्ध लड्न आफू प्रतिबद्ध रहेको उनले बताए ।
अमेरिकाको ट्रेजरी विभागले चीनको कृत्रिम बौद्धिकता कम्पनी सेन्सटाइममाथि प्रतिबन्ध लगाएको छ । उक्त कम्पनीले तारो बनाइएको व्यक्तिको जातीयतालाई निर्धारण गर्ने मुहार पहिचान सफ्टवेयर बनाएको आरोप छ । विशेषगरी उइगुरहरूको पहिचानमा त्यसले जोड दिएको बताइएको छ ।