३० असार २०८३, मंगलबार

चीन सीमासम्म सडक बनाउनका लागि केन्द्र सरकारलाई भारतको सर्वोच्च अदालतले दियो अनुमति

मंसिर २८, २०७८
चीन सीमासम्म सडक बनाउनका लागि केन्द्र सरकारलाई भारतको सर्वोच्च अदालतले दियो अनुमति

भारतको सर्वोच्च अदालतले चार धाम परियोजनालाई मंगलवार स्वीकृति दिएको छ । 

केन्द्र सरकारले यस परियोजनामार्फत सडकहरूलाई १० मिटरसम्म चौडा बनाउन खोजेको छ । सबै मौसममा चल्ने राजमार्ग परियोजना र डबल लेन राजमार्ग बनाउनका लागि केन्द्र सरकारले अनुमति पाएको हो । 

चारधाम परियोजना अन्तर्गत चीन सीमामा सजिलै पुग्न भारतीय सेनालाई सहज हुनेछ र जुनसुकै मौसममा पनि सेना त्यहाँ पुग्न सक्नेछ । 

अदालतले मुद्दाको सुनुवाइ गर्दै राजमार्ग बनाउनका लागि सडकको चौडाइ बढाउनुमा रक्षा मन्त्रालयको कुनै दुर्भावना नरहेको बतायो । 

लगभग १२ हजार करोड रुपैयाँको राजमार्ग विस्तार परियोजनाको परिकल्पना सन् २०१६ मा गरिएको थियो । त्यसअन्तर्गत उत्तराखण्डका चार प्रमुख मन्दिरहरू बद्रीनाथ, केदारनाथ, गंगोत्री र यमुनोत्रीलाई समेट्दै चार धाम सर्किटलाई सबै मौसममा कनेक्टिभिटी दिन ८८९ किलोमिटर सडकलाई चौडा बनाउन खोजिएको थियो । 

सडक विस्तार गर्ने क्रममा रुख काट्नुपर्ने, डाँडा ताछ्नुपर्ने र खनेर निस्केको सामग्रीका कारण हिमालयको वातावरण विनाश हुने भएकाले एक गैरसरकारी संगठनले सडक विस्तार परियोजनालाई कानूनी चुनौती दिएको थियो । अदालतले यस विषयमा छानबिनका लागि वातावरणविद् रवि चोपडाको संयोजकत्वमा एक उच्च अधिकार समिति गठन गरेको थियो ।

उक्त समितिले सडक ५.५ मिटरभन्दा बढाउन नहुने भनेको थियो । 

तर लद्दाखको गलवानमा हिंसा भएपछि भारतले आफ्नो भूमिमा सडक विस्तारलाई अघि बढाउनुपर्ने आवश्यकता अनुभव गरेको छ । सर्वोच्च अदालतले त्यसलाई विचार गर्दै रक्षा कारणले गर्दा सडक विस्तारसँगै वातावरणीय समस्यालाई पनि सम्बोधन गर्न सुझाव दिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्