
काठमाडौं, २१ मंसिर — लोकसेवा आयोगले सरकारी सेवा प्रवेशका लागि विभिन्न परीक्षाहरू सञ्चालन गर्ने समय शुरू भएसँगै सरकारी कार्यालयका कामकाज प्रभावित हुन थालेका छन् । लोकसेवाले केही समयपछि गर्ने परीक्षाहरूमा समावेश हुनको लागि कर्मचारीहरू तयारीमा लागेसँगै सरकारी कार्यालयको कामकाज प्रभावित भएको जनगुनासो बढेको छ ।
प्रशासनिक केन्द्र सिंहदरबारदेखि जिल्ला सदरमुकामका विभिन्न सरकारी कार्यालयहरूमा रहेका खरिदार तथा सुब्बाहरू परीक्षा तयारीमा जुटेपछि काममा मन लगाएका छैनन् । अधिकृतहरू समेत उपसचिवको परीक्षाका लागि जुटेका कारण सरकारी काम प्रभावित बनेको गुनासो बढेको छ । सेवाग्राहीहरूका अनुसार आजभोलि खरिदार सुब्बाले कार्यालयमा खासै काम गर्दैनन् । उनीहरू दिनभर किताब छोपेर पढ्नमा मात्रै केन्द्रित रहन्छन् ।

केही भने आफूले पाएको बिदा सुविधालाई उपयोग गरेर आयोग तयारीका लागि बिदा बसेका छन् । ठूलो संख्यामा कर्मचारी बिदामा बस्दा सरकारी कामकाज प्रभावित भएको छ । सेवाग्राहीहरूका अनुसार सिंहदरबारसहित अन्य सरकारी कार्यालयहरूमा अहिले खरिदार सुब्बाको संख्या कम छ भने कार्यालयमा हाजिर भएका कर्मचारीले पनि मन लगाएर काम गर्दैनन् ।
सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाले कर्मचारीहरूले लोकसेवा आयोगको तयारी गर्न पाउने तर कार्यालयको काजकाम प्रभावित गर्न नहुने बताउँछन् । उनले सामान्य प्रशासन मन्त्रालयमा सरकारी कामकाज प्रभावित गर्नेगरी कर्मचारीहरू आयोग तयारीमा जुटेको गुनासो नआएको बताए ।
‘हामीकोमा कर्मचारीले काम गरेनन् भन्ने गुनासाहरू आएका छैनन्,’ उनले भने, ‘परीक्षाको बेलामा कार्यालयमा कम कर्मचारी हुन चाहिँ सक्छन् ।’ उनका अनुसार कर्मचारीहरूले नियमानुसार आफूले पाउने बिदा लिएरै आयोग तयारीमा लाग्छन् ।
‘खरीदारदेखि उपसचिवसम्मका कर्मचारीहरूले पढेको पढ्यै छन्,’ उनले भने, ‘तर कार्यालय समयमा भने उनीहरूले पढेका छैनन् ।’ मंसिर लागेदेखि नै देशभरका सरकारी कार्यालयमा कर्मचारीको संख्या पातलो बन्दै गएको छ । शाखा अधिकृत परीक्षाका माघ महिनामा हुने प्रारम्भिक र चैत्र महिनामा हुने लिखित परिक्षाका लागि तल्लो तहका कर्मचारी तयारीमा जुटेका हुन् ।
राष्ट्रिय सतर्कता केन्द्रका प्रवक्ता विष्णु प्रसाद लामिछानेले आफूहरूले गर्ने दिनहुँको छड्केमा कर्मचारीहरू परिरहेको बताए । उनले कर्मचारीहरूमा कार्यालय ढिला पुग्ने, दिउँसोको समयमा कार्यालयबाट निस्कने, पोशाक नलगाउने लगायतका समस्याहरू देखिइरहेको बताए ।
तर कर्मचारीहरू के कारणले कारवाहीमा परिरहेका छन् भन्ने कुरा आफूले यसै भन्न नसक्ने बताए ।
‘कर्मचारीहरू बिदा लिएरै आयोग तयारीमा बस्न सक्ने भएकोले पनि केही कार्यालयहरूमा कर्मचारीहरू कम भएका हुन्,’ उनले लोकान्तरसँग भने, ‘तर उनीहरूले कार्यालयको काम नै प्रभावित गरेमा कार्यालय प्रमुखले ख्याल गर्नुपर्छ ।’ तर कार्यालय समयमा पनि कर्मचारीहरू आयोग तयारीमा लाग्ने गरेको गुनासो सर्वसाधारणले गरेका छन् ।
कतिपय संस्थानका तल्लो तहका कर्मचारीहरू बिहान र बेलुका मात्र हाजिर गर्न आउने र दिनभर हराउने गरेको सेवाग्राहीको गुनासो छ । ‘परीक्षा तयारी’का लागि भन्दै संस्थानका कर्मचारीहरू काम छाडेर हिँड्ने गरेको ती संस्थानका कर्मचारीहरू बताउँछन्।