२२ जेठ २०८३, शुक्रबार

बेनी बजारको सडकमा आजदेखि एकतर्फी यातायात सञ्चालन

बेनी बजारको सडकमा आजदेखि एकतर्फी यातायात सञ्चालन

म्याग्दीको सदरमुकाम बेनी बजारभित्रको सडकमा बिहीवारदेखि एकतर्फी यातायात सञ्चालन गर्न थालिएको छ ।

बेनी नगरपालिकाको कार्यालयमा मंसिर १४ गते भएको सरोकारवालाको बैठकको निर्णयअनुसार नगरपालिकाको वडा नम्बर ७ र ८ मा पर्ने बजारभित्रका सडकमा एकतर्फी यातायात सञ्चालन गर्न लागिएको हो ।  

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले सवारीसाधनको बढ्दो चापसँगै बजारभित्र हुने जाम हटाउन, यातायात आवत जावतलाई व्यवस्थित, सुरक्षित बनाउन र दुर्घटना न्यूनीकरण गर्न एकतर्फी यातायात सञ्चालन शुरू गरिएको जानकारी दिए ।

उनका अनुसार बेनी बजारभित्र सञ्चालन हुने सवारीसाधनले अबदेखि क्याम्पसचोकदेखि गणेशटोल, संगमचोक, बालमन्दिरचोक, जिल्ला प्रशासन कार्यालय अगाडिको चोक, हुलाकचोक, न्युरोड हुँदै पुन क्याम्पस चोक पुग्ने गरी सडक प्रयोग गर्नुपर्नेछ ।

‘नगरपालिका, प्रशासन, प्रहरी र उद्योग वाणिज्य संघको बैठकले गरेको निर्णय कार्यान्वयनमा लगिएको हो,’ नेपालीले भने, ‘साँघुरो सडकमा दोहोरो सवारी आवतजावत गर्दा जाम र दुर्घटना हुने समस्या न्यूनीकरणका लागि एकतर्फी यातायात सञ्चालन गर्ने व्यवस्था मिलाइएको हो ।’
 

salt training

कमेन्ट गर्नुहोस्