
कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपाली इसाईलगायत सबै धर्महरूको अभिभावकत्व प्रदान गर्ने बताएका छन् ।
नेपाल ख्रीष्टिय समाज कर्णाली प्रदेश समितिद्वारा ख्रीष्टमसको पूर्वसन्ध्यामा बिहीवार वीरेन्द्रनगर सुर्खेतमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश प्रमुख परियारले क्रिस्चियनसहित सबै धर्म समान रहेका बताए ।
‘मेरो भूमिका भनेको सबैका लागि अभिभावकत्व ग्रहण गर्ने हो,’ उनले भने, ‘नेपालको संविधानको मर्मबमोजिम म आफ्नो ओहादामा रहेर सक्दो प्रयास गर्नेछु ।’
प्रदेश प्रमुख परियारले विश्व, नेपाल र कर्णाली प्रदेशमा बसोबास गर्ने सबै इसाई धर्मावलम्बीहरूलाई आसन्न २५ डिसेम्बर मनाइने ख्रीष्टमस बडादिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गरे । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक ठम्मरबहादुर विष्टले संघीयता, धर्मनिरपेक्षता, समानुपातिकता र समावेशिता माओवादीको एजेण्डा भएकाले यसले सबै वर्गको अधिकार सुनिश्चितताका लागि उल्लेख्य भूमिका निर्वाह गर्दै आएको बताए ।
मुलुकका अल्पसंख्यक, सीमान्तकृत वर्ग, धर्म, जाति भाषाभाषीको नेतृत्व माओवादीले गर्दै आएको जनाउँदै उनले इसाई धर्मावलम्बीहरूको समस्या समाधानमा निरन्तर प्रयास गर्ने बताए । जनजागरण पार्टीका केन्द्रीय अध्यक्ष डा. बीपी खनाल फौजदारी संहिताको परिच्छेद–९ को दफा १५८ ले हामी सबैलाई अपराधी बनाएको टिप्पणी गरे ।
अध्यक्ष डा. खनालका अनुसार सत्ताको वरिपरि बसेकालाई परिवर्तन भएजस्तो लागे पनि नागरिक तहमा त्यसो हुन सकेको छैन ।
नेपाली ख्रीष्टिय समाजका केन्द्रीय महासचिव डिल्लीराम पौडेलले मुलुकको विकासमा इसाईहरूको अग्रणी भूमिका रहेको जनाए । कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी सुर्खेत अध्यक्ष मोहनसिंह बडुवाल, जनता समाजवादी पार्टी सुर्खेतका अध्यक्ष फत्ते सोती मगर, अखिल नेपाल क्रान्तिकारी महिला संघका प्रदेश संयोजक हरिमाया शर्मा, नेपाल राष्ट्रिय ख्रीष्टियन महासंघ कर्णाली प्रदेश अध्यक्ष पदम गैरे, नेकपा एमाले वीरेन्द्रनगर नगरपालिकाका प्रतिनिधि नीलकण्ठ खनाल, अधिवक्ता चेतबहादुर आले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।