काठमाडौँ, १७ पुस - ठमेल र दरबारमार्ग क्षेत्र व्यापारिक प्रतिष्ठान दुई दिन बिहान २ बजेसम्म खुल्नेभएका छन् ।अंग्रेजी नयाँ वर्ष मनाउन महानगरीय प्रहरी काठमाडौं परिसरले दुई क्षेत्रमा रहेका व्यापारिक प्रतिष्ठान तथा रात्रिकालीन व्यवसायलाई बिहान २ बजेसम्म खोल्न अनुमति दिएको राजधानी दैनिकमा खबर छ ।

प्रहरीले ठमेल आसपासमा नयाँ वर्ष मनाउने क्रममा हुनसक्ने सुरक्षा चुनौती ध्यानमा राखेर व्यवस्थित रूपमा सुरक्षाकर्मी खटाएको छ । ‘सुरक्षा व्यवस्था कडा छ, हुलदंगा हुन दिइ“दैन, चाडपर्व मनाउन रोकि“दैन,’ महानगरीय प्रहरी परिसरका निमित्त प्रमुख एसपी प्रधुम्न कार्कीले भने, ‘पर्यटकीय क्षेत्र भएकाले सुरक्षामा विशेष ध्यान दिइएको छ, विदेशी पाहुनाले पनि सुरक्षित महसुस गरून् भन्ने हाम्रो उद्देश्य हो ।’
प्रहरीका अनुसार ललितपुरमा साँझ ६ देखि ११ र राति ११ देखि बिहान ५ बजेसम्म गरी दुई चरणको सुरक्षा व्यवस्था मिलाइएको छ । ठमेल र दरबारमार्ग क्षेत्रमा सवारीसाधन व्यवस्थित गर्न प्रहरीले काठमाडौं लैनचौर फुटबल मैदान, नेपाल स्काउट, महेन्द्र सालिक दक्षिण गेट, दक्षिण गेटदेखि जय नेपाल हलसम्म र दरबार संग्रहालय उत्तरी गेटमा पार्किङ व्यवस्था मिलाएको छ । सवारीसाधन धनीले ती क्षेत्रमा पाकिङ गर्न सक्नेछन् ।