
कात्तिक अन्तिम साता (कात्तिक २६) देखि खुकुरी रमको नयाँ प्याक बजारमा आएको छ । उत्पादक कम्पनी ‘द नेपाल डिस्टिलरिज प्रालिले २० वर्षदेखि निरन्तर प्रयोग हुँदै आएको प्याकलाई बदलेर नयाँ ल्याएको हो ।
ग्राहकको रुचीमा निरन्तर परिरहेको खुकुरी रमको प्याक परिवर्तन कम्पनीका लागि एक चुनौतीपूर्ण कार्य थियो । बजारमा अहिले खुकुरी रम नयाँ प्याकमा उपलब्ध भइसकेको छ ।
२० औं वर्षसम्म चलिआएको प्याकलाई विस्थापन गरेर नयाँ ल्याउन निकै नै मेहनत पर्छ, यसरी हेर्दा यो कार्य नवीन त हुँदै हो, जटिल पनि थियो ।
बजारमा लोकप्रिय रहेको यो ब्रान्ड नेपालमा मात्र हैन अन्तर्राष्ट्रिय बजारमा पनि उत्तिकै लोकप्रिय छ । लोकप्रियता बचाएर उपभोक्ताको मनमा बसिरहन नयाँ प्याकलाई मुस्किल पर्ने गर्छ ।
कतिपय ब्रान्डले नयाँ डिजाइन वा नयाँ नाम दिएको केही महिनामै बिक्रीमा असफल हुने गरेका उदाहरण छन् । तर खुकुरी रमको नयाँ प्याकमा भने ग्राहक र उपभोक्ताको रुचि झनै बढेको उत्पादक कम्पनीको दाबी छ ।
खुकुरी रमको प्याक नेपालको स्थानीय बजारका साथसाथै अन्य १३ मुलुकमा पनि एकैसाथ परिवर्तन गरेपछि यसबारे उपभोक्तामा चासो पाइन्छ ।
२० औं वर्षसम्म लोकप्रिय रहेको ब्रान्डको प्याकेजिङ किन परिवर्तन गरियो ?
‘द नेपाल डिस्टिलरिज’का पदाधिकारी तथा सदस्यहरूले अहिले यस प्रश्नको जवाफ दिइरहनुपरेको छ ।
यसै सन्दर्भमा लिएर लोकान्तरले द नेपाल डिस्टिलरिजका महाप्रबन्धक सुभास लामिछानेसँग कुराकानी गरेको थियो । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
नयाँ प्याकबारे बजारमा कस्तो छ प्रतिक्रिया ?
खुकुरी रमको नयाँ प्याक बजारमा आएसँगै हामीले यसबारे कस्तो प्रतिक्रिया पाइयो भन्नेबारे हेर्यौँ । ग्राहकले दिएका ‘फिडब्याक’ सहित अहिले हामीले यसबारे प्रतिक्रिया संकलन पनि गरेका छौँ ।
तुलनात्मक रूपमा रम जाडो महिनामा बढी कारोबार हुन्छ । हामीले नयाँ प्याक चिसो शुरू भएसँगै ल्याएका थियौँ । ल्याएको एक हप्ताभित्रै सबै बजारमा नयाँ प्याक पुगिसकेको थियो । यसबारे रेसपोन्स लिनका लागि हामीले देशभर एक सयजना अतिरिक्त टीम नै खटाएका थियौँ भने कार्यालयभित्रकै कर्मचारी पनि खटायौँ । म पनि खटिएको थिएँ । यसरी संकलित प्रतिक्रिया हेर्दा बजारमा यसको उपस्थिति निकै राम्रो देखिन्छ ।
बजारमा नयाँ प्याकबारे राम्रो प्रतिक्रिया पाउनेमा हामी आशावादी नै थियौँ, किनभने हामीले प्याक सार्वजनिक गर्नुपूर्व धेरै नै रिसर्च गरेका थियौँ । फाट्टफुट्ट नराम्रो प्रतिक्रिया आउने त केही हुन्छन् नै । तर बजारमा मलाई नयाँ प्याक नै दिनुस् भन्नेहरू पनि धेरै छन् ।
नयाँ प्याक बजारमा ल्याउँदै गर्दा के–कस्ता चुनौती थिए ?
कुनै पनि कम्पनीले नयाँ डिजाइन सार्वजनिक गर्दैगर्दा आफ्नो अस्तित्व बचाउन सक्छ कि सक्दैन भन्ने प्रश्न उठ्छ । खुकुरी रमको नयाँ प्याक सार्वजनिक हुँदै गर्दा पनि यस्ता प्रश्नहरू उठे । कम्पनीको ६० वर्षे इतिहासमा पहिलोपटक प्याकेजिङ परिवर्तन गर्नु निकै ठूलो चुनौतीको कुरा थियो ।
बजारमा पुरानै ‘लोयल’ कायम राख्नुपर्ने र नयाँ डिजाइनले अन्य ब्रान्डसँग प्रतिस्पर्धा पनि गर्नुपर्ने । ग्राहकहरू शुरूदेखि नै पुरानै डिजाइनमा अभ्यस्त हुन्छन् ।
ग्राहकहरूको रुचिलाई समेत नयाँ प्याकेजिङले टिकाइरहनुपर्ने चुनौती थियो । केही ब्रान्डहरूको त नयाँ प्याक आएको २/३ महिनामै नयाँ प्याकको बिक्री रोकिएको पनि देखिएको छ । त्यसैकारण पनि चुनौती थियो । तर त्यो चुनौतीलाई सामना गर्नका लागि बजारमा आइसकेपछि त हामीलाई सहज भयो । भनौं न, त्यस्ता केही चुनौती आएन । ग्राहकले रुचाइदिनुभयो ।
बजारमा अहिले नयाँ प्याक निकै रुचाइएको छ । यसको मुख्य कारण हामीले राम्रो प्याकेजिङ गरेका छौँ । यस्तै हामीले प्याक सार्वजनिक गर्नुभन्दा एक हप्ता अघि पनि जानकारी गराएका थियौँ । नयाँ प्याक बनाउनुअगावै हामीले विभिन्न किसिमका रिसर्च, विभिन्न किसिमका ग्राहकहरूसँग प्रतिक्रिया तथा अन्य कामहरू गर्दै हामी अगाडि बढ्यौँ र नयाँ प्याकलाई सार्वजनिक गरेका हौँ । बजारमा अहिले यसको ‘ग्रोथ’ निकै राम्रो छ ।
ग्राहकको रुचि पुरानैमा थियो, तर नयाँ प्याक ल्याउनुपर्ने बाध्यता वा आवश्यकता किन आयो ?
‘द नेपाल डिस्टिलरिज’ले २० वर्षदेखि अस्तित्वमा रहेको पुरानो प्याकलाई परिवर्तन गर्नुको मुख्य कारण नै समयको माग हो । नयाँ प्याक ल्याउने भन्ने त शुरूमा हामीले सोच्यौँ । त्यो विचार आउनुको मुख्य कारण भनेको समयको माग नै हो । बोतल राम्रो थियो । २० वर्षदेखि चलिआएको थियो । तर परिवर्तन गर्नुपर्ने मुख्य कारण हामीले पायौं ।
ग्राहकसँगको प्रतिक्रिया बुझ्दै जाँदा बोतलले भन्दा पनि गुणस्तर र स्वादले खुकुरी रम बिक्री भइरहेको पाइयो । केही हामीसँग भने– ‘बोतलमा ल्याए नि ल्याउनु, कागजमा ल्याए नि ल्याउनु, बोतलमै ल्याए नि ल्याउनु, जेमा ल्याए पनि खुकुरी रम हामी पिउँछौँ,’ यो मानिसको आ–आफ्नो धारणा हो ।
हामीले के सोच्यौं भने कुनै पनि चिज एउटा समयपछि परिवर्तन गर्नुपर्छ, समयसापेक्ष बनाउनुपर्छ । अहिले बजारमा आइरहेका अन्य ब्रान्डहरूले नयाँ प्याक ल्याउने, हामी २० वर्षसम्म पनि उही प्याकमा चल्ने, अब नयाँ प्याक ल्याउनुपर्छ, अन्तर्राष्ट्रिय स्तरको हुनुपर्छ भन्ने सोचका साथ काम गर्यौँ ।

खुकुरी रमको पुरानै प्याक हुँदा विभिन्न अन्तर्राष्ट्रिय अवार्ड पाइरहेको थियो । यसरी हेर्दा नयाँ प्याकको आवश्यकता पर्थ्यो र ?
हामीले अहिले करीब ६ वटा अवार्ड पाइसकेका छौँ । सबैभन्दा पछिल्लो समय लण्डन स्प्रिट अवार्ड पाएका थियौँ, जुन निकै सम्मानित अवार्ड हो । हामीले जति पनि अवार्डहरू जितेका छौँ, त्यसको गुणस्तर, लिक्विड र स्वादलाई हेरेर पाएका हौँ । प्याकलाई हेरेर होइन । प्याकेजिङ फरक चिज हो ।
हाम्रो धारणा नै प्याकेजिङलाई हेरेर तय गर्छौँ । बजारमा ज्याकेट किन्न गयौँ भने पनि त्यसको लुक्स हेरेर किन्छौँ नि, त्यस्तै न हो । अब प्याकेजिङमा अवार्ड दिइएमा हामी नै प्रथम हुने वा हामी नै हकदार हुने तयारी हो यो ।
प्याकेजिङ बहुप्रतीक्षित कम्पनीले गरेको हो । लण्डनको सुप्रसिद्ध कम्पनीले तयार पारेको यो डिजाइनमा हाम्रै मौलिक, पुरातात्विक वस्तु तथा नेपालीपन छ ।
नेपालको आन्तरिक बजारका साथसाथै अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय हुनुको कारण के हो ?
यसको मुख्य कारण भनेको गुणस्तर नै हो । हामीले जहिले पनि गुणस्तरलाई ध्यानमा राख्यौँ । यस्तै मदिरा बनाउने प्रक्रिया हाम्रो केही भिन्न छ । उदाहरणका लागि– कुनै पनि रक्सीमा एक महत्त्वपूर्ण तत्व हुन्छ । केही थोपा रक्सीमा मिसाउँदा यसले राम्रो काम गर्छ । यसलाई आज पनि हामीले त्यो तत्व आफ्नै फ्याक्ट्रीमा चिनी पकाएर बनाउँछौँ ।
अहिले पनि आगो बालेर, चिनीलाई पकाएर यसलाई बनाउँछौँ । यो लामो तथा झञ्झटिलो प्रक्रिया हो । तर यसले यसको गुणस्तरमा अर्थ राख्छ । यस्तै अन्य कयौँ चिजहरू छ, जसको मौलिकतालाई हामीले ध्यानमा राखेर नै काम गरिरहेका छौँ । यी चिजहरू शायद अरू कम्पनीकोमा पाइन्न । खुकुरी रम पिउने हो भनेपनि ग्राहक वा उपभोक्ताले मज्जैले यसको स्वाद छुट्याउन सक्छन् ।
नेपालबाहेक १३ मुलुकमा पुगिसकेको छ खुकुरी रम, तर निर्यात बढाउन सकिएको छैन भन्ने सुनिन्छ नि ?
हामीले करीब ४ वर्ष अघिदेखि नै अन्तर्राष्ट्रिय बजार विस्तारका लागि काम शुरू गर्यौँ । तर यसका लागि निर्यात प्रयाप्त गर्न सकेनौँ । हाम्रो मूल दायित्व आन्तरिक मागलाई धान्नु हो । त्यसकारण हामीले आन्तरिक मागलाई धान्नका लागि क्षमता विस्तार गर्दै गर्यौं । आगामी दिनमा हामीले निर्यात विस्तारमा नै जोड दिनेछौं ।
आगामी दिनमा खुकुरी रमको मात्र नभई अन्य उत्पादनहरूको पनि बजार विस्तारमा कम्पनीले कस्तो रणनीति बनाउँदै छ ?
आगामी दिनमा हामीले रमको पोर्टफोलियो पूरा गछौं । यो काम यही आर्थिक वर्षभित्रै सकिन्छ ।
एक्सएक्सएक्स रम, कोरोनेसन रम लगायतको पनि प्याकेजिङ बदल्ने सोचेका छौँ । यसमै काम गर्नेछौं यस वर्षमा ।
यसका साथै हामीले बजार विस्तार र निर्यात वृद्धिका लागि कसरी हुन्छ उत्पादन क्षमता बढाउनेतर्फ नै ध्यान दिन्छौँ ।

सरकारको नीतिका कारण मदिरा उत्पादन तथा बिक्रीका लागि केही असहज भएको भन्ने सुनिन्छ नि, के छ तपाईंको विचार ?
सरकारले हरेक वर्ष मदिराजन्य वस्तुहरूमा कर बढाइरहेको हुन्छ । यसमा सरकारले आफ्नै तरिकाबाट हेरेको हुन्छ, आफ्नै लक्ष्य हुन्छ ।
त्यसलाई चुम्नुपर्ने दायित्व पनि हुन्छ । तर यस्ता वस्तुमा कर बढेपछि स्वाभाविक रूपमा मूल्य बढ्छ ।
यसरी मूल्य बढ्दा रक्सी पिउनेको संख्या त घट्दैन । ग्राहकहरू सस्तो कुन छ, त्यतैतर्फ आकर्षित हुन्छन् । सस्तो रक्सीहरू राम्रा हुन्छन् भन्ने हुँदैन । जसका कारण उपभोक्ता ठगिने वा अन्य जोखिमहरू हुन सक्ने हुन सक्छ भने अर्कोतर्फ यसबाट राजस्व पनि गुमिरहेको पाइन्छ । सरकारले यसलाई विचार गरेर नीति नियम कार्यान्वयनको पक्षमा अतिरिक्त जोड दिएमा राजस्व संकलन पनि हुने र उपभोक्ता पनि नठगिने अवस्था आउँछ ।
यस्तै सीमावर्ती क्षेत्रमा रक्सीको चोरी पैठारी ठूलो संख्यामा हुने गरेको छ । समाचारहरूमा पनि सुनिन्छ । यसलाई नियन्त्रण गर्न सरकारले बेलाबेलामा छापा मार्ने, कारवाही गर्ने त गरिरहेको छ, तर पर्याप्त छैन । यसलाई नियन्त्रण गर्नका निम्ति नीति नियमलाई कडाइका साथ लागू गर्ने र कारवाहीमा पनि कडाइ गर्नुपर्ने मैले आवश्यकता देखेको छु ।