
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपाध्यक्ष ध्रुवबहादुर प्रधानले अमेरिकी मिलिनियम च्यालेन्ज (एमसीसी) का विषयमा आफ्नो पार्टी तटस्थ बस्ने बताएका छन् ।
उपाध्यक्षमा निर्वाचित भएपछि गृहजिल्ला पश्चिम नवलपरासी आएका प्रधानले सोमवार सदरमुकाम परासीमा पत्रकारसँग कुराकानी गर्दै एमसीसीका विषयमा मतदान हुने अवस्था आए आफूहरू तटस्थ बस्ने बताए ।
विश्वका २ शक्ति राष्ट्रहरू अमेरिका र चीनबीच द्वन्द्व बढिरहेको अवस्थामा एमसीसीलाई सहयोगका रूपमा मात्र लिन नहुने उनले बताए ।
वर्तमान सरकारले एमसीसीका विषयमा जनतालाई प्रस्ट पार्दै अगाडि बढ्नुपर्नेमा प्रधानको जोड छ ।
नयाँ आएको नेतृत्वले पनि राजसंस्था सहितको प्रजातन्त्र र सनातन हिन्दूराष्ट्रको पुरानै एजेण्डालाई अघि सारेर जनतामाझ जाने उनले बताए । महाधिवेशनपछिको परिणामले पार्टी फुट्ने आशंका गरेपनि त्यो सम्भव नरहेको उनले बताए ।