
कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखा परेको चीनतर्फ नेपालको पर्यटन मार्केटिङ अर्थात् प्रचारप्रसार र प्रर्वद्धनको काम विगत २ वर्षदेखि ठप्प भएको छ ।
भारतपछि नेपालमा चीनबाट आउने पर्यटकको संख्या उच्च भए पनि कोरोनाको शुरुवाती चरणदेखि नेपालका पर्यटन व्यवसायीहरूले उक्त देशमा नेपालको प्रचारप्रसार तथा मार्केटिङका कुनै पनि कार्य सञ्चालन गर्न पाएका छैनन् ।
सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने तयारी हुँदै गर्दा यसको प्रचारप्रसार गर्न भन्दै नेपालका सरकारी अधिकारी तथा पर्यटन व्यवसायीसहितको टोली सन् २०१९ नोभेम्बरको पहिलो हप्ता चीनतर्फ गएको थियो । त्यसयता हालसम्म चीनतर्फ नेपालले कुनै पनि प्रचारप्रसारका कार्यक्रमहरू लैजान सकेको छैन । पर्यटन व्यवसायीहरूले कोरोना भाइरसका बीच अपनाइएका बन्दाबन्दी, निषेधाज्ञाजस्ता मापदण्डका कारण र चीनमै कडा नीति अपनाइँदा प्रचारप्रसारका लागि जान नसकेको बताए । आर्थिक अभियान दैनिकमा खबर छ ।