३० जेठ २०८३, शनिबार
सरसर्ती २४ घण्टा

एमसीसीको चर्चा : सत्ता गठबन्धन तोडिने खतरा !

एमसीसीको चर्चा : सत्ता गठबन्धन तोडिने खतरा !

सत्तारूढ दलहरूले एमसीसीको बारेमा साझा धारणा तय गरेर अगाडि बढ्नुपर्ने मत व्यक्त गर्न थालेका छन् । आइतवार बसेको सर्वदलीय बैठकपछि सोमवार सत्ता गठबन्धनका अधिकांश नेताहरूले साझा धारणा तय गरेर जानुपर्नेमा जोड दिएका हुन् । 

यसैबीचमा पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमसीसीको नाममा सत्ता गठबन्धन तोडाउन खोजेको भन्दै अधिकांश नेताहरूले उनीमाथि रोष पोखेका छन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले पनि प्रतिगमनकै बाटोमा रहेको आरोप लगाएका छन् । 

समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको प्रतिगमनविरुद्धको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एमाले अध्यक्ष ओली संसद अवरुद्ध गरिरहेकाले अहिले पनि प्रतिगमनकै बाटोमा रहेको पुष्टि भएको बताएका हुन् । 

उनले अदालतले ह्वीप नलाग्ने फैसला गरिसकेको, सभामुखले आफूले लिनुपर्ने निर्णय १३ दिनमै लिएको र कतै पनि संविधानको मर्म तथा भावना विपरीत नभएको भन्दै अहिले संसद अवरुद्ध गर्नुको औचित्य प्रतिगमन नै रहेको दाबी गरे । अध्यक्ष दाहालले निर्वाचन आयोग र संसदले स्वीकार गरिसकेको कुरालाई नमान्नु भनेको लोकतन्त्र विरोधी भएको पुष्टि हुने बताए । 

०००

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्ने बताएका छन् । 

समाजवादी प्रेस संगठन नेपालले सोमवार काठमाडौंमा आयोजना गरेको प्रतिगमनविरुद्धको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमसीसीबारे सत्तारुढ ५ दलबीच छलफल गरेर साझा निष्कर्ष निकाल्ने बताए । 

अध्यक्ष नेपालले सेनासँग वा नेपालको सार्वभौमसत्तासँग एमसीसी जोडिन नहुने पनि बताए । उनले आफूले एमसीसीको अन्तरवस्तुका बारेमा छलफल गरिरहेको र त्रुटि कमजोरी छन् भने सच्याएर मात्रै अघि बढ्ने बताएका छन् । अध्यक्ष नेपालले छिमेकी देशहरूमाथि कुनै किसिमबाट असर नपर्ने गरी एमसीसी अघि बढाइने बताए । 

०००

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे सत्तारूढ पाँच दलको साझा धारणा बन्ने दावी गरेका छन् ।

तनहुँमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले एमसिसी परियोजनामा मतभेद सृजना गरी गठबन्धन भत्काउने एमाले अध्यक्ष केपी ओलीको प्रयास सफल नहुने बताए ।

सत्तारुढ गठबन्धनमा एमसिसीबारे साझा धारणा बनाउन कार्यदल गठन भएको चर्चा गर्दै मन्त्री श्रेष्ठले छिट्टै साझा धारणा सार्वजनिक गरिने बताए ।  एमसिसीका अन्तरवस्तुका बारेमा पार्टीभित्र पनि छलफल भइरहेको उनले बताए ।

०००

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको बहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा रहेको बताएका छन् । 

सोमवार नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालले अघिल्लो वर्ष प्रतिनिधि सभा विघटन भएको पुस ५ गतेको दिनलाई कालो दिनको रुपमा स्मरण गर्दै आयोजना गरेको कार्यक्रममा बोल्दै डा. भट्टराईले एमसीसीको बहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा रहेको बताएका हुन् । 

देशी, विदेशी शक्ति लागेर गठबन्धन भत्काउन सक्ने भन्दै यसतर्फ सबै सचेत हुनुपर्नेमा उनले जोड दिए । एमसीसीको सम्बन्धमा सत्तारुढ गठबन्धनका बीचमा सहमति जुटाएर मात्रै अघि बढ्नुपर्ने उनले बताए । 

०००

प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक हैसियत भएका सीमित वर्ग र व्यक्तिको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने मान्यतामा सरकार दृढ रहेको बताएका छन् । 

त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोहलाई सोमवार सम्बोधन गर्दै उनले सुलभरुपमा उच्च शिक्षा प्राप्त गरी आफ्नो प्रतिभा र सिर्जना राष्ट्र तथा समाजका लागि उपयोग गर्न सक्ने वातावरण निर्माण गर्नु मुलुकको राष्ट्रिय दायित्व रहेको स्पष्ट पारे । 

प्रधानमन्त्री देउवाले विश्वविद्यालयको शिक्षा केवल औपचारिक तथा सैद्धान्तिक मात्र नभएर व्यावहारिक, जीवनोपयोगी र समाज विकास एवं रुपान्तरणमा सहयोगी बन्नुपर्नेमा जोड दिए । 

०००

नेपाली काँग्रेसको महिला खुलातर्फको केन्द्रीय सदस्यमा ९ जना विजयी भएका छन् । पार्टीको १४ औं महाधिवेशन अन्तर्गत एक साताअघि भएको निर्वाचनको सोमबार सम्पन्न महिला खुलातर्फको मतगणनामा ९ जना विजेताको टुंगो लागेको हो ।

निर्वाचन समितिका अनुसार  डा डिला संग्रौला (पन्त) ले सर्वाधिक २८८५ मत पाएकी छन् भने पुष्पा भुसालले २७१८ मत पाएकी छन् । यस्तै तेस्रो स्थानमा रहेकी आरजु देउवा राणाले २५३६ मत पाएकी छन् ।
यस्तै अम्बिका बस्नेतले २३३९, ईश्वरी न्यौपानेले २२५९, सरिता प्रसाईंले २०९६, रमा कोइराला पौडेलले १८५८, सुशीला ढकाल आचार्यले १८०४ र रंगमती शाहीले १७८९ मत पाएर विजयी भए ।

अन्य उम्मेदवारहरू अनिता देवकोटा, जानुका ढकाल, उमा दाहाल, किरण कोइराला, रुक्मिणि देवी कोइराला, बिजुला शर्मा राणा, कल्पना अधिकारी, बासना थापा नम्रता बराल, सावित्री बोगटी (पाठक), अकला गुरुङ, धन खतिवडा, अम्बिका सुवेदी, तुलसा पन्त, सीतादेवी देवकोटा (पाण्डे), रीता दवाडी, उषाकुमारी राउत, शान्ति कार्की, गौरी कुमारी श्रेष्ठ, मोदती केसी र अम्बिका केसी लामिछाने पराजित बने । उनीहरु कम मत ल्याएका आधारमा पराजित बनेका हुन् ।

०००

नेपाली कांग्रेसको महामन्त्रीमा पराजित भएर डा. मीनेन्द्र रिजालले रक्षामन्त्रीबाट दिएको राजीनामा स्वीकृत भएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले सोमवार एक विज्ञप्ति जारी गर्दै रक्षा मन्त्रालयको जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई दिइएको जनाएका छन् ।

०००

निर्वाचन आयोगले १६ वर्ष उमेर पूरा गरेर नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिहरूको मतदाता नामावली संकलन गरिरहेको छ । 

देशका सबै निर्वाचन कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र तोकिएका इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन भइरहेको आयोगले जनाएको छ । 

यसका साथै मतदाता नामावली संकलन विशेष कार्यक्रममार्फत हिमाली र पहाडी जिल्लाका स्थानीय तहहरूमा १० दिन र अन्य जिल्लाका स्थानीय तहहरूमा १५ दिनका दरले पहिलो चरणको कार्यक्रम समाप्त  भएको र दोस्रो चरणको कार्यक्रम पनि सञ्चालन भइरहेको आयोगको भनाइ छ । 

०००

नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरले अतिरिक्त शुल्क बुझाए मात्रै पढाइ शुरू गर्ने बताएपछि विद्यार्थी र अभिभावक आन्दोलित बनेका छन् ।

चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७/२०७८ का लागि निर्धारण गरेको शुल्कभन्दा झण्डै ५ लाख रुपैयाँ बढी मागेपछि अभिभावक समेत आन्दोलित बनेका छन् ।

कलेजले आयोगले तोकेकोभन्दा ४ लाख ८२ हजार रुपैयाँ बढी बुझाउन दबाब दिएपछि अभिभावक तथा विद्यार्थीले प्रदेशका मन्त्रीदेखि प्रशासनको साथ खाजेका छन् ।

०००

पछिल्लो २४ घण्टामा २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १४१ नमूना परीक्षणमध्ये २१८ पीसीआर र २ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु संख्या ११ हजार ५७४ पुगेको छ । 

मन्त्रालयका अनुसार थप २६३ जना संक्रमणमुक्त भएका छन् । 

०००

मर्जर सहमति भएको लामो समयपछि हिमालयन बैंकले नेपाल इन्भेस्टमेन्ट बैंकसँग मर्जरमा जाने औपचारिक निर्णय गरेको छ ।

बैंकको सञ्चालक समितिको बैठकले इन्भेस्टमेन्ट बैंकसँग मर्जरमा जाने औपचारिक निर्णय गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणाले लोकान्तरलाई जानकारी दिए ।

सञ्चालक समितिको बैठकमा इन्भेस्टमेन्ट बैंकसँग मर्जरमा जानका लागि सर्वसम्मतिले निर्णय दिएको हो । 

गत वैशाख ३० गते दुई बैंकबीच मर्जरको सहमति भएको थियो ।

मर्जरपछि ‘हिमालयन एण्ड नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड’ हुने गरी सहमति भएको झण्डै ९ महिनापछि हिमालयन बैंकले मर्जरमा जाने औपचारिक निर्णय गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्