भारतीय जनता पार्टीका नेता गजेन्द्र झाले दलित नेता जितनराम माझीको जिभ्रो काटेर ल्याउनेलाई ११ लाख भारु पुरस्कार दिने घोषणा मंगलवार गरेका छन् ।
तर माझीको जिभ्रोको मूल्य ११ पैसा बराबर पनि नभएको झाले बताए ।
शनिवार बिहारका पूर्व मुख्यमन्त्री माझीले ब्राह्मण समुदायका विरुद्ध आपत्तिजनक टिप्पणी गरेपछि झाको बयान आएको हो ।
हिन्दुस्तानी अवमा मोर्चाका प्रमुख माझीले पटनामा भुइयाँ मुसहर समुदायले आयोजना गरेको कार्यक्रममा बोल्दै पण्डितहरूका विरुद्ध बयान दिएका थिए ।
उनले भने, ‘आजकल गरीब मानिसहरूमा धर्मप्रतिको आस्था बढेको देखिन्छ । हामीले भगवान् सत्यनारायणको नाम सुनेकै थिएनौं । अहिले प्रत्येक टोलमा हामी सत्यनारायणको पूजा गर्छौं । यी पण्डितहरूलाई लाजशरम केही लाग्दैन । उनीहरू तपाईं दलितको घरमा केही पनि खान्नौं भन्छन् तर पैसा चाहिँ लिन्छन् ।’
पछि माझीले आफ्नो बयानप्रति माफी माग्दै आफ्नै समुदायका मानिसलाई आलोचना गरेको बताए ।
‘मैले ब्रा्हमण समुदायका विरुद्ध अपमानजनक बयान दिएको छैन । उनीहरूलाई मेरो शब्दले चोट लागेको भए म माफी चाहन्छु,’ उनले बताए ।