२३ जेठ २०८३, शनिबार

माधव नेपालले भने- संसदमा हाम्रो उपस्थितिले ओलीको सातो गएको छ, जाओस्

माधव नेपालले भने- संसदमा हाम्रो उपस्थितिले ओलीको सातो गएको छ, जाओस्
फाइल तस्वीर।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संसदमा आफ्नो उपस्थितिले एमाले अध्यक्ष केपी शर्मा ओलीको सातो गएको बताएका छन् । 

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले संसदमा आफ्नो उपस्थितिले ओलीको सातो गए पनि आफूहरूको ध्येय भने कम्युनिष्ट आन्दोलन र नेपाल राष्ट्रको गरिमालाई उचो बनाउनु रहेको बताएका हुन् । 

मंगलवार पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै उनले एमालेले संसदमा संविधानको सम्मान गर्ने नारा लगाए पनि कहिल्यै सम्मान नगरेको दाबी गरे । 

एमालेले संसदीय मर्यादाको समेत पालना नगरेको अध्यक्ष नेपालको आरोप थियो । उनले एमालेले संसदबाट आफूहरूलाई हटाउन दबाब दिए पनि त्यो अधिकार कसैलाई नरहेको बताए । 

‘कमसेकम मेरो उपस्थितिले केपी ओलीको सातो गइरहेको छ नि । सातो जाओस् । केही मतलब छैन । नेपाली जनताको सातो कायम रहनु पर्छ,’ उनले भने, ‘नेपाल राष्ट्रको गरिमा माथि उठ्नुपर्छ । कम्युनिष्ट आन्दोलन जोगिनुपर्छ । कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाउनुपर्छ । हाम्रो ध्येय यही नै हो ।’

उनले ओलीको कब्जामा रहेको एमाले आफूहरूको पहिलो प्रतिद्वन्द्वी भएको बताए । 

‘उसले हामीलाई शत्रु घोषणा गरेको छ । हाम्रो अनुहार पनि हेर्दिनँ भनेको छ । तर, कस्तो संयोग, नेपाली काँग्रेसको कार्यक्रममा अनुहार हेर्दै जानु परेको छ,’ उनले भने, ‘नेपाली कांग्रेसको कार्यक्रममा आउन हुने, एउटै स्टेजमा बस्न पनि हुने, तर अन्य ठाउँमा हामीलाई छुवाछुतको व्यवहार गर्ने ।’

उनले एमाले ओलीको प्राइभेट कम्पनीमा रुपान्तरण भइसकेको बताए । 

‘संसद बैठकमा आउँछन्, नारा लगाउन शुरू गर्छन् । नारा लगाइरहेका विषयहरू के–के छन् ? नारामा भनिएका कुरा सुन्नुस्त,’ उनले भने, ‘नम्बर एक– संसदीय मर्यादा पालना गर । ओली गुटले मर्यादा पालना गरेको छ ? संविधानको सम्मान गर । तर गरेका छन् त ? अनि नारा के लगाएको हुन्छ त भन्दाखेरी हामीले कारवाही गरेका व्यक्तिलाई यहाँबाट हटा । के कारवाही गर्न अधिकार पाएको छ, दिइएको छ ? त्यो अधिकार प्राप्त छ ? हामी भन्छौं– छैन ।’

salt training

कमेन्ट गर्नुहोस्