०७ असार २०८३, आइतबार

अञ्जानमा मेरो गाडीले हिलो छ्यापेकोमा क्षमा चाहन्छु, गुनासो भए सम्पर्क गर्नुस्– वामदेव गौतम

अञ्जानमा मेरो गाडीले हिलो छ्यापेकोमा क्षमा चाहन्छु, गुनासो भए सम्पर्क गर्नुस्– वामदेव गौतम
फाइल फोटो

ठेकेदारको लापरवाहीका कारण पाँच वर्षदेखि अलपत्र रहेको ललितपुरको भैँसेपाटी सडकको ओरालोमा आफ्नो गाडीले एक सर्वसाधारणलाई हिलो छ्यापेको घटना सम्बन्धमा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले दुःख व्यक्त गरेका छन् । 

बिहीवार दिउँसो पौने २ बजेको समयमा भैँसेपाटीबाट एयरपोर्ट जाने क्रममा गौतम चढेको गाडीले निर्माणाधीन सडकमा एक जना मोटरसाइकल चालकलाई हिलो छ्यापेको थियो । 

मोटरसाइकलमा सवार सर्वसाधारणमाथि हिलो छ्यापिएपछि उनले सडकमा आक्रोश व्यक्त गरेका थिए । राष्ट्रिय सभाका सदस्य समेत रहेका गौतमले आफू सवार गाडीबाट मोटर साइकलमा सवार चालकलाई हिलो छ्यापिएको घटना सम्बन्धमा दुःख व्यक्त गरेका छन् । 

‘मेरो गाडीले मोटरसाइकलमा सवार व्यक्तिलाई हिलो छ्यापिएको घटनाबाट म अत्यन्त दुःखी छु र क्षमायाचना गर्न चाहन्छु,’ गौतमले भने, ‘हामीबाट अञ्जानमा भएको गल्तीप्रति खेद व्यक्त गर्दछु ।’

गौतमले आफ्नो नम्बर दिँदै पीडित व्यक्तिलाई सम्पर्कमा आउन आग्रह गरेका छन् । उनले सबै हिसाबले क्षतिपूर्ति गर्न तयार रहेको बताएका छन् ।

‘हामी पर पुगेपछि मात्र हाम्रो गाडीले उहाँलाई हिलो छ्यापेको भन्ने थाहा पायौं, उहाँसँग सम्पर्क नभएकाले मेरो निम्न नम्बर (९८६९१३३६८१) मा फोन गरेर सम्पर्कमा आउन आग्रह गर्छु,’ गौतमले भने ।

ठेकेदारले समयमा निर्माण सम्पन्न नगर्दा यो सडकमा पैदल यात्रु र सवारी साधनमा यात्रा गर्ने यात्रुले सास्ती व्यहोर्दै आएका छन् ।
 

कमेन्ट गर्नुहोस्