३१ असार २०८३, बुधबार

साढे ९ वर्षमा चितवन निकुञ्जमा मरे २१८ गैँडा

साढे ९ वर्षमा चितवन निकुञ्जमा मरे २१८ गैँडा
फाइल तस्वीर।

चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १९ गैँडा मरेका छन् । मरेका गैँडामध्ये दुई चोरीशिकारीले मारेको आशंका गरिएको छ । अन्य कालगतिले मरेका हुन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार चालु आर्थिक वर्षको साउनमा ६, भदौमा दुई, असोजमा एक, कात्तिकमा तीन, मंसीरमा पाँच र पुसमा दुई गैँडा मरेका हुन् । 

मरेका गैँडामा बूढो भएर पाँच, भासिएर पाँच, पानीमा डुबेर दुई, जुधेर चार र बाघको आक्रमणबाट एक गैँडा मरेको जनाइएको छ । 

यस्तै साउन १२ गते माडीको घाघर क्षेत्रमा भेटिएको मृत गैँडा र असोज ११ गते धोवा क्षेत्रमा फेला परेको गैँडा शिकारीले मारेको आशंका गरिएको उनले जानकारी दिए । 

कार्यालयका अनुसार आव २०७५/७६ मा ४३ गैँडा मरेका थिए । सो समयमा गैँडा धेरै मरेपछि मर्नुको कारण खोज्न अध्ययन टोली बनाइएको थियो । 

यस्तै आर्थिक वर्षमा २०७७/७८ मा ३३, २०७६/७७ मा २६, २०७४/७५ मा २६, २०७३/७४ मा २५, २०७२/७३ मा १४, २०७०/७१ र २०७१/७२ मा ११/११ गैँडा मरेका थिए । यस्तै २०६९/७० मा १० गैँडा मरेको निकुञ्जले जनाएको छ । 

पछिल्लो गणनाअनुसार नेपालमा ७५२ गैँडा रहेकामा चितवन राष्ट्रिय निकुञ्जमा ६९४ रहेका छन् । गैँडाको बासस्थानका हिसाबले यो निकुञ्ज उत्तम मानिन्छ । 

केही समय शून्य चोरीशिकारी वर्ष मनाएको निकुञ्जमा पछिल्लो समय तस्करले गैँडा मार्न थालेका हुन् । गैँडाको संख्या धेरै भएकाले पछिल्ला वर्ष प्राकृतिक कारणबाट मर्ने संख्या पनि बढी हुने गरेको छ । संख्या बढ्दै जाँदा प्राकृतिक कारणबाट मर्ने संख्या बढ्नुलाई अस्वाभाविकरूपमा लिन नपर्ने विज्ञहरू बताउँछन् । 

salt training

कमेन्ट गर्नुहोस्